२०८१ कार्तिक ५, सोमवार , ११:४१:३४ बजे

Sajhamanch
'

झापाका नदी किनारामा १२० किलोमिटर तटबन्ध

शुक्रवार, असार २१, २०८१

झापा। जनताको तटबन्ध कार्यक्रमअन्तर्गत झापाका विभिन्न नदी किनारमा २ वर्षमा १२० किलोमिटर बाँध निर्माण भएको छ । बाँध निर्माणपछि हजारौँ बिघा खेतीयोग्य जग्गा र मानव बस्ती बाढीबाट जोगिएको छ ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा उक्त तटबन्ध निर्माण भएको हो । बाँध निर्माणमा रु तीन अर्ब ८९ करोड ३५ लाख खर्च भएको तटबन्ध निर्माण आयोजना कार्यालयका सूचना अधिकारी महेश खत्रीले बताए।

जिल्लामा ६ वटा नदीमा तटबन्ध निर्माण भइरहेका छन् । कार्यालयले मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा र मावा नदीको बाढी र जमिन कटान रोक्न विसं २०७४ मा विस्तृत परियोजना प्रतिवेदन बनाएर तटबन्ध निर्माण आयोजना अघि बढाएको थियो ।

आव २०७९/८० मा ११७ किमी र आव २०८०/८१ मा तीन किमी बाँध निर्माण भएको छ । पछिल्लो वर्ष सरकारले तटबन्धका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको आयोजनाले जनाएको छ ।

विगत २ वर्षमा मेची नदीमा १० दशमलव ५३ किमी, बिरिङमा २७ दशमलव ८५ किमी, कनकाइमा २७ दशमलव ९८ किमी, कमलमा १४ दशमलव ९८ किमी र रतुवा–मावामा ३८ दशमलव ६१ किमी बाँध निर्माण भएको खत्रीले जानकारी दिए।

जिल्लाका प्रमुख ५ नदीमा ३०४ किमी लामो तटबन्ध निर्माण गर्ने आयोजनाको लक्ष्य छ । दुई वर्षमा लक्ष्यको तुलनामा ३९ दशमलव पाँच प्रतिशत मात्र भौतिक प्रगति भएको पाइएको छ ।

लक्ष्यअनुरूप तटबन्ध निर्माण गर्न रु १७ अर्ब ६१ करोड सात लाख ५२ हजार बजेट आवश्यक पर्छ । आव २०८०र०८१ मा रु छ करोड ६५ लाख विनियोजन भएको थियो । तटबन्ध निर्माण १९ ठाउँमा भइरहेको छ । सबैभन्दा बढी रतुवा–मावा नदीको छ स्थानमा बाँध निर्माण भइरहेको छ । कमल नदीमा चार, कनकाइमा चार, विरिङमा तीन र मेचीमा दुई ठाउँ तटबन्ध निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

शुक्रवार, असार २१, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर