२०८१ कार्तिक ५, सोमवार , ०२:००:५३ बजे

Sajhamanch
'

निर्वाचन प्रक्रिया स्थगित गरेर एकीकृत समाजवादीमा सर्वसहमतिको प्रयास

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व सर्वसहमतिबाट टुंग्याउने प्रयास चलिरहेको छ ।

सर्वसहमतिबाट नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । आज बिहान १० बजेबाटै निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यतालिका तय गरिएको थियो ।

तर नेतृत्वमा सर्वसहमतिको प्रयास गर्ने भनेर अहिलेसम्म निर्वाचन प्रक्रिया अगाडि बढाइएको छैन । नेताहरू लगातार छलफलमा जुटिरहेका छन् ।

‘अहिलेसम्म नटुंगिए पनि हामी सर्वसहमतिबाट नेतृत्व चयन गर्छौ, त्यसैका लागि छलफल चलिरहेको छ,’ प्रकाश ज्वालाले भने । उनले मतदानसम्म नपुर्‍याउने प्रयास भइरहेको पनि बताए ।

प्रतिवेदनहरू पारित भएपछि सुरु भएको छलफल हिजो राति १ बजेसम्म चलेको थियो । फेरि आज बिहानबाट सुरु भएको छलफल अहिले पनि चलिरहेको छ । सहमति जुट्न भने सकेको छैन । पार्टी अध्यक्ष पदमा माधव नेपाल र घनश्याम भूसालले दाबी गरेका छन् ।

दुवैले अडान नछोड्दा सर्वसहमति हुन सकेको छैन । तर बन्दसत्रमा अधिकांश प्रतिनिधिले सर्वसहमति गर्न दबाब दिएपछि नेताहरू सर्वसहमति जुटाउन छलफलमा छन् । एकीकृत समाजवादीमा २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ ।

सम्बन्धित खबर