२०८१ मंसिर १०, सोमवार , ०५:२७:४० बजे

Sajhamanch
'

क्यान्सर रोगी छोराको उपचारमा सहयोग गर्न आमाको अपील

बुधवार, असार १९, २०८१

मेचीनगर । रगतमा क्यान्सर देखिएपछि जीवन र मरणको दोसाँधमा रहेका १४ वर्षीय क्षितिज अधिकारीको परिवारले उपचारमा सघाउ पुर्याउन अपील गरेको छ ।

४ महिनादेखि चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका उनको उपचारमा आर्थिक अभाव भएपछि परिवारजनले सहयोगको आग्रह गरेको हो ।

“यहाँ ल्याएको ४ महिना भो, यहीं मात्रै डेढ लाख खर्च भइसक्यो” बिरामी बालकका बुवा भीमप्रसाद अधिकारीले अस्पतालबाटै साझामञ्चसँग भने, “अहिलेसम्म उपचार खर्च ४ लाख नाघ्यो ।”

‘६ महिनाजति यहीं राख्नुपर्छ, हाम्रो दबाईले कत्तिको काम गर्छ हेरौं, रोग कत्तिको नियन्त्रणमा आउँछ ।’, उपचारमा संलग्न चिकित्सकको भनाई उदृध गर्दै उनले भने ।

बिरामीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जानकारी दिँदै अधिकारीले उपचारका क्रममा उक्त अस्पतालमा झण्डै ७ लाख रुपैयाँ खर्च लाग्ने बताए ।

डाक्टरको सल्लाह सम्झिँदै भीमप्रसाद भन्छन्, ‘त्यसपछि पनि शरीरले रगत उत्पादन गरेन भने बोन म्यारोको शल्यक्रिया गराउन भारत लैजानुपर्छ, ४ वर्षसम्म उपचार गराइरहनुपर्छ ।’

ब्लड क्यान्सरले थला परेर अस्पतालको शैय्यामा छट्पटाइरहेको छोराको उपचारका लागि भएको रकम रित्तिएको बताउँदै आमा सीता अधिकारीले भनिन्, ‘सबैले सकेको सहयोग गरेर छोरो बचाइदिन बिन्ति छ ।’

उपचारमा आर्थिक सहयोग गर्न इच्छुक मनकारीहरुका लागि एनएमबी बैंकमा उपचाररत् क्षितिज अधिकारीकै नाममा १९६०२२९८७४४०००१९ नम्बरको खाता खोलिएको उनले बताइन् ।

मेचीनगर– ११, हरित ग्रीन टोलको कमजोर आर्थिक अवस्थाको उक्त परिवारले उपचार सहयोगका लागि मेचीनगर ११ नम्बर वडा कार्यालयमा निवेदन दिएको छ ।

त्यसपछि वडा कार्यालयले आफ्नो वडाका २५ वटै टोल विकास संस्थालाई सहयोग जुटाउन पत्राचार गरेसँगै स्वेच्छिक सहयोग संकलन भइरहेको भानु टोल विकास संस्थाका पूर्वअध्यक्ष लिलन प्रसाईंले बताए ।

त्यस्तै, हरित ग्रीन टोल विकास संस्थाका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईंले गच्छेअनुसारको सहयोग गर्न टोलवासीलाई अनुरोध गरिएको जानकारी दिए । क्यान्सरपीडित क्षितिजले गतवर्ष धुलाबारी माविबाट कक्षा ८ को परीक्षा दिएका थिए ।

सम्बन्धित खबर