काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगबती चौधरीले महिला अधिकारका क्षेत्रमा भएका राम्रा प्रयासहरूले नेपालमा पनि प्रभाव पार्ने गरी काम गर्न आग्रह गरेकी छन् ।
महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा निर्वाचित नेपालकी वन्दना राणालाई सोमवार मन्त्रालयमा आयोजित बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
“महिला अधिकारका पक्षमा नेपालमा धेरै राम्रा प्रयासहरू भएका छन्, तर अझै पनि हामीले थुप्रै कामहरू गर्न बाँकी छ, त्यसका निम्ति हामी सबैको एकीकृत प्रयत्न हुन जरुरी छ” मन्त्री चौधरीले भनिन्, “तपाईंले अन्तर्राष्ट्रिय रूपमा नेपालको तर्फबाट राम्रो काम गरिरहनुभएको छ, अन्तर्राष्ट्रिय रूपमा भएका राम्रा प्रयासहरूले नेपालमा सकारात्मक प्रभाव पार्ने गरी काम गर्न अनुरोध गर्दछु ।”
उनले अझै पनि महिलालाई हेप्ने, कमजोर ठान्ने मानसिकता रहेको भन्दै ती सबै गलत कार्यको अन्त्यका निम्ति अझै काम गर्न आवश्यक रहेको बताइन् । ‘पोलिसि मेकर’ बाटै अहिले पनि समस्या रहेको मन्त्री चौधरीको भनाई थियो ।
उनले महिला अधिकार तथा संरक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी ल्याउनका निम्ति भूमिका खेल्न आग्रह गरिन् । मन्त्री चौधरीले अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने दोस्रो तहका महिला नेतृत्व उत्पादन गर्नतिर लाग्न समेत राणालाई आग्रह गरिन् ।
सो अवसरमा सिड कमिटी सदस्य वन्दना राणाले लैङ्गिक समानताको सबैभन्दा ठूलो अड्चन विद्यमान गलत मानसिकता रहेको बताइन् । अझै पनि महिलालाई विभिन्न उपमा दिएर कमजोर बनाउने प्रवृत्ति रहेको भन्दै उनले त्यसलाई चिर्न आवश्यक रहेको बताइन् ।