२०८१ मंसिर १०, सोमवार , ०७:३७:२३ बजे

Sajhamanch
'

कमलमा मेसिनले धान रोपेर मनाइयो २१ औँ राष्ट्रिय धान दिवस

आइतवार, असार १६, २०८१

कमल । वर्षेनी असार १५ मा मनाउने गरिएको राष्ट्रिय धान दिवस कमल गाउँपालिकाले पनि विविध कार्यक्रम गरेर मनाएको छ ।

“जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नारासहित सो पालिकाले २१ औँ राष्ट्रिय धान दिवस मनाएको हो ।

उक्त पालिका–६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्था तथा इन्द्रेणी कृषक समूहको व्यवस्थापनमा सामूहिक रोपाईं गरेर धान दिवस मनाइएको छ ।

नौमति बाजासहित सो पालिका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने (तिवारी)ले मेसिनबाट धान रोपेर धान दिवस मनाएका हुन् ।

त्यसअघि आयोजित कार्यक्रममा अध्यक्ष राईले कमल गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।  त्यसक्रममा उनले कृषकलाई प्रविधिमैत्री बनाउने विषय पालिकाको नीति तथा कार्यक्रममै समेटिएको बताए ।

त्यस्तै, पालिका उपाध्यक्ष तिवारीले कृषि उत्पादन बढाउन पालिकाको तर्फबाट कृषकलाई अनुदानमार्फत विभिन्न कृषियन्त्र, उपकरण वितरण गर्दै आइएको बताइन् ।

त्यसैगरी, पालिकाका आर्थिक विकास प्रमुख केदार कटुवालले नीजि क्षेत्रले उत्पादन गरेका वस्तु विक्री–वितरणमा पालिकाले आवश्यक सहयोग गर्ने बताए ।

सो कार्यक्रममा सहकारी कृषि समूहका तर्फबाट दीपक आचार्य, सहकारीका तर्फबाट शोभा उप्रेती लगायतले बोलेका थिए ।

उक्त पालिका वडा नम्बर ६ का अध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कृषक समूहका प्रतिनिधि रमेश निरौलाले शाब्दिक स्वागत गरे भने सञ्चालन कृषि शाखा प्रमुख महेन्द्र बोहोराले गरेका थिए ।

सम्बन्धित खबर