२०८१ मंसिर ९, आइतवार , ०७:५६:३५ बजे

Sajhamanch
'

मेचीनगरको वार्षिक नीति तथा कार्यक्रममा कृषिलाई विशेष सम्बोधन

मङ्गलवार, असार ११, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा कृषि क्षेत्र र कृषकलाई विशेष सम्बोधन गरेको छ ।

आर्थिक विकास नीति अन्तर्गत कृषि विकासतर्फ खेतीयोग्य जमिनमा १२ महिना सिंचाई सुविधा पुर्याउन अभियानकै रुपमा डिप बोरिङ, सोलार पम्प, कुलो मर्मत तथा निर्माण, वाटर लिफ्टिङ स्प्रिङ्कल सिंचाई योजना र वर्षको पानी संकलन गर्ने पोखरी निर्माण आदिको माध्यमबाट सिंचाई सुविधाको व्यवस्थापन गरी सिंचाईका पूर्वाधारहरु मर्मत तथा पुनः निर्माण गरी आवश्यकता अनुसार नयाँ कुलो पैनी निर्माण गर्ने नीति लिइएको छ ।

नगरपालिका क्षेत्रभित्र हात्तीले पुर्याउने क्षतिलाई न्यूनीकरण गर्न हात्तीबाट बढी प्रभावित क्षेत्रहरुमा हात्तीले कम क्षति पुर्याउने बाली पहिचान गरी ती बालीहरुलाई व्यावसायिक खेतीको रुपमा प्रवर्द्धन गर्ने, यसक्षेत्रका लागि उपयुक्त रहेका रैथाने तथा स्थानीय बालीहरुको पहिचान गरी त्यस्ता बालीहरुको संरक्षण तथा व्यावसायिक खेती मार्फत प्रवर्द्धन गर्ने क्रियाकलापहरु सञ्चालन गर्ने, व्यावसायिक कृषि प्रवर्द्धनका लागि कृषकहरुले कृिष यान्त्रिकीरणको अवलम्बन गरी बृहत कृषि यान्त्रिकरण प्रवर्द्धन अनुदान कार्यक्रम सञ्चालन गर्ने, महमा आत्मनिर्भर मौरीपालन कार्यक्रमलाई अभियानकारुपमा अघि बढाउने नीति नगरपालिकाले लिइएको छ । नीजि र सहकारी क्षेत्रको सहकार्यमा कृषि उत्पादकत्वमा वृद्धिसहित थुप्रै महत्वपूर्ण विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।

यी हुन्, नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका अन्य क्षेत्रहरु

रोजागारी सृजना र गरीबी निवारण, नवप्रवर्तनमा आधारित स्थानीय क्षेत्रको आर्थिक विकास, आन्तरिक स्रोतमा वृद्धिका लागि पूर्वाधार विकास, प्रभावकारी सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन, श्रमिकको पञ्जिकरण, श्रमिकको सुरक्षा र व्यवस्थापन, एकीकृत शहरी विकास योजनाको निर्माण तथा कार्यान्वयन, लागूऔषधको प्रयोग नियन्त्रणका लागि व्यापक सामाजिक परिचालन, विकासका आयामहरुमा टोल विकास संस्थाको सहभागिता र साझेदारी, ५ यूनिटसम्म पानी प्रयोग गर्ने निम्न वर्गको पहिचान गरी खानेपानीको बिलको ५ यूनिटसम्म पानी खपत गर्ने ग्राहकको कार्यविधि बनाई खानेपानी समितिको सहकार्यमा पानी महशुल निःशुल्क गरिने छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा सोमवार भएको दोस्रो नगरसभाको पाँचौँ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले वार्षिक नीति तथा कार्यक्रमका लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सञ्चालन गरेको नगरसभामा मेचीनगरका पन्ध्रवटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहभागी थिए ।

सम्बन्धित खबर