२०८१ मंसिर ९, आइतवार , ०७:४४:०८ बजे

Sajhamanch
'

मेचीनगरले सार्वजनिक गर्यो जिल्लाकै ठूलो आकारको बजेट, यो आवमा गत आवभन्दा ५० करोड बढी

सोमवार, असार १०, २०८१

मेचीनगर । पन्ध्रवटा स्थानीय तह रहेको झापामा सुदूरपूर्वको मेचीनगर नगरपालिकाले जिल्लामै र मेचीनगरको इतिहासमै पहिलोपटक ठूलो आकारको बजेट सार्वजनिक गरेको छ ।

मेचीनगरको सोमवार आयोजित दोस्रो नगरसभाको पाँचौ अधिवेशनमा उपप्रमुख मीना उप्रेतीले नगरमा हालसम्मकै ठूलो आकारको बजेट सार्वजनिक गरेकी हुन् ।

सो नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब ५ करोड २९ लाख २ हजार रुपैयाँको वार्षिक बजेट ल्याएकोमा चालू खर्चतर्फ ७३ करोड ९६ लाख ९४ हजार रुपैयाँ, पूँजीगत खर्चतर्फ एक अर्ब ३१ करोड ७ लाख ८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

त्यस्तै, आयतर्फ आन्तरिक आम्दानी १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारको वित्तीय समानीकरणतर्फ २४ करोड ९५ हजार रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ४७ करोड २८ लाख रुपैयाँ, सशर्त पूँजीगत अनुदानतर्फ ७५ करोड ५६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ २ करोड ५० लाख रुपैयाँ र राजस्व बाँडफाँटतर्फ १७ करोड ३७ लाख ६० हजार रुपैयाँ रहेको बजेटमा उल्लेख छ ।

यसैगरी, आयतर्फ कोशी प्रदेश सरकारको वित्तीय समानीकरणतर्फ १ करोड ६३ लाख रुपैयाँ, सशर्त चालू अनुदानतर्फ ८१ लाख ४४ हजार रुपैयाँ, सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ४० लाख रुपैयाँ र राजस्व बाँडफाँटतर्फ १ करोड ७० लाख रुपैयाँ, समपूरक अनुदानतर्फ १ करोड ३० लाख रुपैयाँ, मालपोत घर रजिस्ट्रेशनबाट ११ करोड रुपैयाँ र दहत्तरबहत्तरबाट ३ करोड रुपैयाँ प्राप्त हुने बजेटमा बताइएको छ ।

कूल बजेटमध्ये चालू खर्चमा ३६.०३ प्रतिशत, पूँजीगत खर्चमा ६३.८५ प्रतिशत र वित्तीय व्यवस्थापनमा ०.१२ प्रतिशत बजेट विन्यास गरिएको छ । उक्त नगरमा आव २०७८/०७९ मा रु. एक अर्ब ५३ करोड, २०७९/०८० मा रु. एक अर्ब ४८ करोड र २०८०/०८१ मा रु. एक अर्ब ५१ करोडको बजेट ल्याइएको थियो ।

गत आवको तुलनामा यसवर्ष रु. ५० करोड बढीको बजेट आएको हो ।

सम्बन्धित खबर