२०८१ मंसिर १३, बिहिवार , ०४:४८:४८ बजे

Sajhamanch
'

विपद् व्यवस्थापनमा जुट्ने झापाका संघ–संस्थाको प्रतिबद्धता

शुक्रवार, असार ७, २०८१

बिर्तामोड । झापा जिल्लामा रहेका विभिन्न संघ–संस्थाले विपद् व्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको ‘विपद् व्यवस्थापनका लागि संघ–संस्थाको भूमिका’ विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनुपर्ने बताए ।

विपद्का बेला राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्न नहुने बताउँदै उनले सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।

यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकाले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।

त्यस्तै, सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नुपर्ने बताए । उनले विपद्को पूर्वतयारीका लागि राहत कोष स्थापना गर्न सुझाव दिए ।

जसका लागि कोभिडको समयमा संकलित रकममध्ये केही रकम मौज्दात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन अक्षयकोष स्थापना गर्न गिरीले सुझाव दिए ।

सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन अक्षयकोष स्थापना गर्न सकिने उनको भनाई थियो ।

यसैगरी, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले विपद्बारे अध्ययन र योजना बनाउन नसक्दा बाढीजन्य विपद्का कारण वर्षेनि झापावासीले सास्ती व्यहोर्दै आएको र त्यसलाई न्यूनीकरण गर्न योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विपद् व्यवस्थापनका लागि पूर्व तयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए ।

उनले झापामा हुन सक्ने विपद् जोखिमको अध्ययनको काम भइरहेको र जनस्तरमा पुगेर राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियान समेत जारी राखेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्सका जिल्ला अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मीनु ओली लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

जिल्लाका तीन दर्जनबढी संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

सम्बन्धित खबर