२०८१ मंसिर १२, बुधवार , १२:४५:३४ बजे

Sajhamanch
'

पर्यावरण जोगाउन विश्वलाई बिन्ती गर्दै हिंडेका अग्रवाल भन्छन्ः पर्यावरण मासिए समग्र अस्तित्व संकटमा पर्छ

शनिवार, असार १, २०८१

बिर्तामोड । पर्यावरण रक्षाका लागि अपील गर्दै २५ अगष्ट २०२० मा विश्व पैदलयात्रा शुरु गरेका भारतीय युवा रोहन अग्रवाल शुक्रवार झापा आइपुगेका छन् ।

नेपालको ७३ जिल्ला हिंडेरै पुगेका भारत महाराष्ट्र नागपुरका २२ वर्षीय उनले बिर्तामोडस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधिसँग भेटघाट गरी त्यसबारे छलफल गरे ।

पर्यावरण जोगाउने सन्देश प्रवाह गर्ने सिलसिलामा अग्रवालले बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं लगायतका व्यक्तित्वलाई जारी अभियानबारे अवगत गराए ।

भारतको बनारसबाट हिंड्न थालेर २२ हजार किलोमिटर दूरी पार गरेका पर्यावरण अभियन्ता उनी प्रेस चौतारी झापाको कार्यालय, नेकपा एमाले झापाको जिल्ला कार्यालय लगायत पुगे ।

बोतलबाट पानी नपिउने, टिस्यू पेपर प्रयोग नगर्ने र कम कपडाको प्रयोग गर्ने गरेको जानकारी सञ्चारकर्मीलाई गराउँदै अग्रवालले पर्यावरण संरक्षणमा सर्वपक्षीय चासो र खाँचो हुनुपर्नेमा जोड दिए ।

प्लाष्टिक मात्रै नियन्त्रण गर्दा पनि पर्यावरण संरक्षणमा ठूलो सघाउ पुग्ने बताउँदै उनले पर्यावरण संकटमा परे मानव जीवनसँगै जीवजन्तु, कृषि उत्पादन लगायत क्षेत्रको अस्तित्व अप्ठ्यारोमा पर्ने बताए ।

अबको यात्रा इलाम, पाँचथर हुँदै ताप्लेजुङतर्फ मोडिने र पूजाअर्चनाका लागि पाथीभरा मन्दिर पुग्ने धोको रहेको अग्रवालले सुनाए ।

पाथीभराको दर्शनपछि कम्बोडिया, म्यानमार, मंगोलिया हुँदै संसारकै चिसो ठाउँमध्येको रुसको साइवेरियास्थित ओम्याकोन जाने पैदल तालिका उनले बनाएका छन् ।

९ वर्षभित्र हिंडेरै विश्व फन्को मार्ने संकल्प लिएका अग्रवालले यात्रा थालेयता बंगलादेश, भारतका २९ प्रान्त र नेपालको ७३ जिल्ला पुगिसकेको बताए । अबको ५ वर्षभित्रमा बाँकी रहेका सबै देश पुग्ने उनको लक्ष्य छ ।

सम्बन्धित खबर