काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । आज बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुखसमक्ष पेस गरिएको दाबीमा सिंहलाई एमालेका २४, जनमतका १३, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल सङ्घीय समाजवादी पाटीका १ सहित ५५ जना सांसदको समर्थन रहेको छ ।
१०७ सदस्य रहेको मधेश प्रदेशसभामा सरकार बनाउन ५४ सदस्यको समर्थन आवश्यक पर्छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख भण्डारीले आज बिहान १० बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेकि थिइन् ।