२०८१ मंसिर ८, शनिवार , १०:३२:३७ बजे

Sajhamanch
'

काँकरभिट्टा खानेपानी संस्थाको निर्वाचनः प्रगतिशील समाजवादी साझाबाट अध्यक्षका उम्मेद्वार आचार्य भन्छन्, ‘बुज्जकी मतदाताले बुझेरै मत दिनेमा ढुक्क छु’

सोमवार, जेठ १४, २०८१

मेचीनगर । काँकरभिट्टा खानेपानी संस्थाको यही जेठ २६ गते हुने निर्वाचनका लागि आइतवार मनोनयन दर्ता गराएका उम्मेद्वारहरुले घरदैलो अभियान शुरु गरेका छन् ।

झन्डै दुई साताअघि तीन वटा छुट्टा–छुट्टै प्यानल सार्वजनिक गरेका विभिन्न राजनीतिक दल सम्बद्ध उम्मेद्वारहरुले मनोनयन दर्तापछि सोमवारबाट घरदैलो अभियान थालेका हुन् ।

नेकपा एमालेका सन्तोष आचार्य नेतृत्वको प्रगतिशील समाजवादी साझा प्यानल, नेपाली कांग्रेसका रोहित बुढाथोकी नेतृत्वको लोकतान्त्रिक प्रगतिशील साझा प्यानल र राष्ट्रिय स्वतन्त्र पार्टीका सुदर्शन खड्का नेतृत्वको स्वतन्त्र खानेपानी उपभोक्ता समूह प्यानलले उपभोक्ता भेटघाटलाई तीव्र बनाएको हो ।

स्थानीय तह निर्वाचनको झल्को दिने गरी मनोनयन दर्ता गर्न काँकरभिट्टा खानेपानी संस्था परिसर पुगेका उम्मेद्वारहरुले दर्तासँगै मतदाताका घरघरै गएर आ–आफ्ना चुनावी एजेण्डा सुनाइरहेका छन् ।

उक्त चुनावले तीन प्यानलमा बाँडिएका विभिन्न दलका अधिकांश उम्मेद्वारहरु अभियानको सुरुवाती चरणमा मेचीनगर–६ र ७ नम्बर वडाका उपभोक्ता भेटघाटमा व्यस्त छन् ।

त्यसक्रममा उम्मेद्वारहरुले उपभोक्ताका खानेपानीसम्बन्धी समस्या सोध्ने र जितेपछि पूरा गर्ने आश्वासन दिँदै मतदाता रिझाइरहेका छन् ।

“बोल्नकै लागि मात्र हामी बोल्दै छैनौँ, अहिले भनेर मात्रै पनि हुँदैन, मतदातालाई वचन दिइसकेपछि पूरा गर्नुपर्छ” मेचीनगर–७ को भान्सा खोलाका उपभोक्तासँग गफिँदै गर्दा भेटिएका प्रगतिशील समाजवादी साझा प्यानलबाट अध्यक्ष पदका उम्मेद्वार सन्तोष आचार्यले भने, “संस्था र उपभोक्ता दुवैको समस्या बुझेपछि मात्रै हाम्रो प्यानलले चुनावी एजेण्डा तयार गरेको हो, त्यही सुनाउँदैछौँ ।”

“शुद्ध र सुरक्षित खानेपानी आजको आवश्यकता, सहज र सुलभ उपलब्ध गराउने हाम्रो प्रतिबद्धता” भन्ने उपभोक्तामैत्री नारासहित चुनावी मैदानमा ओर्लिएको सो प्यानलबाट अध्यक्षका उम्मेद्वार उनले थपे, ‘हुने वाचा गर्ने र गरेपछि पूरा गर्ने टीम फर्मेशन गरी प्यानल बनाएका हौँ ।’

खानेपानीको शुद्धताको क्षेत्रमा गुणात्मक काम गर्ने, सेवाप्रवाह र कर्मचारी संयन्त्रमा पारदर्शीता कायम गर्ने, अनुशासन स्थापित गर्ने लगायत चुनावी एजेण्डा साकार पार्न दुई दलीय मोर्चा बनाई निर्वाचनमा होमिएको आचार्यको भनाई छ ।

अभियानका क्रममा भेटिएका मतदाताहरु आफ्नो प्यानलका एजेण्डाप्रति सहमत भएका र खानेपानी संस्थामा विगतमा आफूले गरेको संघर्षलाई मसिनो ढंगले बुझेको महसूस गरेका उनी भन्छन्, ‘बुज्जकी मतदाताले सचेततापूर्वक विवेकपूर्ण निर्णय लिनेमा ढुक्क छु ।’

अध्यक्ष पदमा उम्मेद्वारी दिइएको संस्थामा १६ वर्षसम्म कर्मचारी रहेका उनले संस्था र उपभोक्ताका समस्याबारे आफू जानकार रहेको र उपभोक्ताले पनि आफूलाई राम्ररी बुझेको प्रतिक्रिया दिए ।

“भन्दा भनेजस्तो हुन्छ, मैले जति मेरा प्रतिस्पर्धीले संस्था र उपभोक्तालाई नजिकबाट नियाले जस्तो लाग्दैन, धेरै भनिरहनै पर्दैन” निर्वाचनबारेको कुराकानीमा साझा मञ्चसँग आचार्यले भने, “हाम्रो प्यानलमा अनुभवी उम्मेद्वार साथीहरु हुनुहुन्छ, यो त आम सचेत उपभोक्तालाई पनि थाहा भएकै कुरा हो ।”

प्रगतिशील समाजवादी साझा प्यानलमा एमाले र जनता समाजवादी पार्टी, लोकतान्त्रिक प्रगतिशील साझा प्यानलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा स्वतन्त्र खानेपानी उपभोक्ता समूह प्यानलमा रास्वपासहित दल बेगरका पनि केही उम्मेद्वार छन् ।

८ हजार धारा संख्या रहेको उक्त संस्थाको मेचीनगर–२, ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा गरी कूल उपभोक्ता संख्या ६ हजार ६ सय ७४ छ । सो संस्थाको आउँदो निर्वाचनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै छ ।

स्थानीय संघ–संस्थाको निर्वाचनलाई प्रतिष्ठाको विषय बनाइ उम्मेदवार उभ्याउने गरेका पार्टीहरुले पछिल्लो समय स्थानीयस्तरमा दलको आलो अवस्था तौलिने तराजुको रुपमा समेत लिने गरेका छन् ।

सम्बन्धित खबर