हल्दिबारी । नेकपा एमाले हल्दिबारी गाउँ कमिटीको दोस्रो अधिवेशन आउँदो जेठ १२ र १३ गते हुने भएको छ ।
एमाले गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाले बुधवार आयोजित पत्रकार सम्मेलनमा अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए ।
हल्दिबारी–२ स्थित राधाकृष्ण मन्दिरको सभाहलमा हुने अधिवेशन सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न अध्यक्ष सापकोटाको अध्यक्षतामा ३०१ सदस्यीय मूल आयोजक कमिटी गठन गरिएको छ ।
अधिवेशनका लागि मोहनचन्द्र रेग्मीको संयोजकत्वमा आर्थिक उपसमिति, हरिकृष्ण अधिकारीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, महेश मेचेको संयोजकत्वमा प्रचार–प्रचार उपसमिति, खेम न्यौपानेको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन भएको छ ।
त्यसैगरी, प्रकाश चुडालको संयोजकत्वमा खाद्यान्न उपसमिति, कल्पना रेग्मीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, त्रिलोचन सापकोटाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति र आरपी शिवाकोटीको संयोजकत्वमा साँस्कृतिक उपसमिति गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
एमाले कोशी प्रदेश सल्लाहकार सदस्य मोहनचन्द्र रेग्मीका अनुसार अधिवेशनले पार्टीका नेता तथा कार्यकर्ताको योग्यता, क्षमता, इमानदारीता र क्रियाशीलता हेरेर सर्वसम्मत नेतृत्व चयन गर्नेछ ।
सम्मेलनमा एमाले कोशी प्रदेश कमिटी सदस्य सन्तलाल मेचेले पार्टीभित्रका अन्तर्विरोधलाई किनारा लगाउँदै हल्दिबारीको समग्र विकासको खाका अधिवेशनबाट पारित हुने बताए ।
‘मिसन–८४ मा हल्दिबारीमा एमालेले एक्लै बहुमत ल्याउने लयमा पार्टीलाई अघि बढाउन यो अधिवेशनले विशेष महत्व राख्छ ।’, सम्मेलनमा उनले भने ।
पत्रकार सम्मेलनमा सन्तलाल मेचे, मोहनचन्द्र रेग्मी, नरेश चुडाल, सागर पोर्तेल, रन्जित मेचे, सुदीप राजवंशी लगायत पार्टीको गाउँ तथा वडा कमिटीका पदाधिकारी एवं सदस्यहरुको आतिथ्यता थियो ।
पार्टी गाउँ कमिटी अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन गाउँ कमिटीका कार्यवाहक सचिव हरिकृष्ण अधिकारीले गरेका थिए ।