बिर्तामोड । नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन यही जेठ १३ गते हुने भएको छ ।
मंगलवार पार्टीको बिर्तामोड नगर कमिटीले पत्रकार सम्मेलन गरेर उक्त मितिमा अधिवेशन गर्ने तय भएको जानकारी गराएको हो । सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं बिर्तामोड नगर कमिटी इन्चार्ज गीता अधिकारीले सो अधिवेशनको लोगो सार्वजनिक गरेकी हुन्।
त्यसक्रममा प्रमुख अतिथि अधिकारीले सम्मेलन कक्षको भित्तामा टाँगिएको ब्यानर खोलेर अधिवेशनको लोगो सार्वजनिक गरेकी हुन् ।
सो पार्टीको बिर्तामोडस्थित जिल्ला कार्यालयमा आयोजित सम्मेलनमा बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले अधिवेशनका लागि ४९९ प्रतिनिधि छनौट हुने बताए ।
‘अधिवेशनमा वडाबाट चुनिएका ४९९ प्रतिनिधिको सहभागिता रहन्छ, भोलि (बुधवार) बाटै सबै वडामा प्रतिनिधि छनौट कार्य शुरु हुन्छ ।’, उनले भने ।
पार्टीको जिल्ला तथा नगरस्तरीय नेता एवं विभिन्न जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिहरु उपस्थित सम्मेलनमा अध्यक्ष भट्टराईले भने, ‘अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको छ ।’
सो अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने सम्मेलनमा बताइएको छ ।