मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न यही जेठ २६ गते निर्वाचन हुँदैछ ।
संस्थाको २८औँ साधारण सभाले उक्त मितिमा चुनाव गर्ने घोषणा गरेसँगै उम्मेदवारहरु ३ वटा प्यानल तयार गरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न दलप्रति आस्था राख्ने उम्मेदवारहरुले भिन्दा भिन्दै प्यानल बनाएर चुनावी कसरत थालेपछि चुनावी सरगर्मी शुरु भएको छ ।
आसन्न उक्त निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसका रोहित बुढाथोकीको नेतृत्वमा बनाइएको लोकतान्त्रिक प्रगतिशील साझा प्यानलमा ५ वटा दलले गठबन्धन गरेका छन् ।
सो प्यानलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आबद्ध छन् ।
त्यस्तै, नेकपा एमालेका सन्तोष आचार्यको नेतृत्वमा तयार गरिएको प्रगतिशील समाजवादी साझा प्यानलमा जनता समाजवादी पार्टी (जसपा) जोडिएको छ ।
त्यसैगरी, उक्त निर्वाचनका लागि सुर्दशन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समूहले प्यानल घोषणा गरेको छ । उक्त प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका खड्का लगायत धेरैजसो उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका छन् ।
दुई दलीय गठबन्धनको प्रगतिशील समाजवादी साझा प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका आचार्यले उक्त संस्थामा पूर्व कर्मचारीका रुपमा पनि अनुभव संगालेका छन् ।
“पत्रकारितामा बढी क्रियाशील भएपछि कार्यव्यस्तताले संस्थाबाट स्वेच्छिक अवकाश लिएँ” १६ वर्षे अवधि सोही संस्थामा कर्मचारीको रुपमा बिताएका उनले थपे, “अध्यक्षमै उम्मेदवारी दिनुपर्ने कारण छन्, संस्थालाई नजिकबाट नियालेको छु, यहाँका समस्याबारे भुक्तभोगी छु ।”
खानेपानीको शुद्धताको क्षेत्रमा गुणात्मक काम गर्न, सेवाप्रवाह र कर्मचारी संयन्त्रमा पारदर्शीता र अनुशासन स्थापित गर्न उम्मेदवार बनेको उल्लेख गर्दै आचार्य भन्छन्, ‘हाम्रो प्यानलबाट मूल चुनावी एजेण्डा यही नै हो, यो नगरी हुँदै हुँदैन, जरुरी छ ।’
कुराले मात्रै चिउरा नभिज्ने भन्दै उनी थप्छन्, ‘विचारलाई व्यवहारमा बदल्नुछ, कुरालाई काममा बदल्नुछ, मैले यही गर्नुछ, त्यसैले चुनावमा होमिनुपरेको हो ।’
एमालेको विभागीय मोर्चा खानेपानी तथा सरसफाई केन्द्रीय विभागका सदस्यसमेत रहेका आचार्य एमालेप्रति आस्थावान पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पनि हुन् ।
उनले नेपाल पत्रकार महासंघ झापा शाखाको सचिव, नाइट चेस क्लबको महासचिव लगायत विभिन्न संघ–संस्थाको महत्वपूर्ण पदमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरेका छन् ।
त्यस्तै, लोकतान्त्रिक प्रगतिशील साझा प्यानलबाट अध्यक्ष पदमा उम्मेदवार भएका बुढाथोकी सो संस्थामा २०६०–०६४ को कार्यकालमा कार्यसमिति सदस्य थिए ।
‘म सदस्य हुँदाको कार्यसमितिले साना शहरी योजना ल्याउन विधान संशोधन गर्यो, त्यसपछि योजना आएको हो, खानेपानीमा मेरो योगदान उपभोक्तालाई थाहै छ’ साझामञ्चसँग उनले भने ।
“मेरो कार्यकालमा उपभोेक्ता संख्या न्यून थियो, पहिले पानीको अभाव थिएन, उपभोक्ता हितका काम हिजो पनि सिंगो टीम मिलेर गर्यौं” बुढाथोकीले भने, “तर अहिले उपभोक्ता संख्या ८ हजार नाघ्यो, म पनि उपभोक्ता हो, स्वच्छ पानी पिउँछु र आम उपभोक्तालाई त्यस्तै पानी उपलब्ध गराउने उपभोक्तासँग प्रण गर्छु ।”
उपभोक्ता संख्या बढेर पानीको खपत पनि बढेकाले पानी अभावको समस्यालाई दिगो रुपमा समाधान गर्न अध्यक्षमै उम्मेदवारी दिएको बताउँदै उनले भने, ‘उपभोक्तालाई सर्वसुलभ शुल्कमा बाह्रैमास स्वच्छ पिउने पानी पुर्याउन नै उम्मेदवार बनेको हुँ ।’
आफ्नो प्यानल निर्वाचित भए संस्थाको प्रशासनिक पाटोलाई प्रविधियुक्त पार्न, प्राविधिक पक्षलाई सरल र प्रभावकारी बनाउन र सरसफाईलाई व्यवस्थित गर्न कुनै कसर बाँकी नराख्ने बुढाथोकीको अठोट छ ।
‘कालो र पहेँलो पानीका कारण उपभोक्ता हैरान छन्, यी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्नुछ, प्राविधिक र प्रशासनीक पक्षसँग सहकार्य गरेर काम अघि बढाउँछु’, उनले भने ।
कांग्रेसको महाधिवेशन प्रतिनिधि, लोकतान्त्रिक यातायात व्यवसायी संघको केन्द्रीय सदस्य लगायत पदीय जिम्मेवारी वहन गरेका बुढाथोकी मेची ट्रान्सपोर्ट एशोसिएशनको जिल्ला अध्यक्ष तथा कोशी प्रदेश उपाध्यक्ष, मेची ट्रक व्यवसायी संघको जिल्ला अध्यक्ष, रोटरी क्लब अफ काँकरभिट्टाको अध्यक्ष लगायत भइसकेका छन् ।
यसैगरी, स्वतन्त्र खानेपानी उपभोक्ता समूहले घोषणा गरेको प्यानलबाट अध्यक्षका उम्मेदवार सुर्दशन खड्का आफू नेतृत्वको समूह निर्वाचित भए पानीको घनलिटरमा वृद्धि गरी महसूल घटाउने, विपन्न वर्गको पहिचान गरी योगदान पुर्याउने, उपभोक्तालाई स्वच्छ पानी वितरण गर्ने बताउँछन् ।
“पानीबाट बञ्चित क्षेत्र अवलोकन गर्छौं, यही कार्यकालमा धारा विस्तार गरी उपभोक्तालाई पानी वितरण गर्छौं” उनी भन्छन्, “संस्थागत आर्थिक पारदर्शीता कायम गर्न विद्युतिय प्रणालीद्वारा उपभोक्ताले हेर्न सक्ने गरी व्यवस्थापन गर्छौं ।”
खड्काले आफू नेतृत्वको समूहले उपभोक्ताको हितलाई लक्षित गर्दै तयार गरिएको उपभोक्तामैत्री विविध एजेण्डा आम उपभोक्तामाझ पुर्याउने बताए ।