२०८१ मंसिर १५, शनिवार , ०३:०१:१० बजे

Sajhamanch
'

बूढीगण्डकी र नलगाडको निर्माण शुरु गरिने

मङ्गलवार, जेठ १, २०८१

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षदेखि २ ठूला जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने भएको छ ।

निर्माणमा जान तयार रहेका ती आयोजनाको आवश्यक स्रोतको जोहो गरेर निर्माण शुरु गरिन लागेको हो ।

आज संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रममा बूढीगण्डकी जलविद्युत आयोजना र नलगाड जलाशययुक्त आयोजनाको निर्माण अगाडि बढाउने उल्लेख छ ।

१ हजार २ सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको पूर्वतयारीको काम सम्पन्न भइसकेको छ । मुआब्जा वितरण लगायतका काम अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको शीघ्र शिलान्याश गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बताउँदै आएका छन् । धादिङ र गोरखाको सीमा भएर बहने बूढीगण्डकी नदीमा निर्माण हुने आयोजनालाई बहुउद्देश्यीय बनाउने समेत सरकारको सोच छ ।

यस्तै, ४ सय १७ मेगावाट क्षमताको नलगाड आयोजनाको समेत विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । यो आयोजना निर्माणका लागि सरकारले आवश्यक तयारी गरेको छ ।

सरकारले नीति तथा कार्यक्रममा जलस्रोतको समग्र विकास र उपयोगका लागि राष्ट्रिय ऊर्जा नीति र जल तथा मौसम विज्ञान नीतिका साथै, जलस्रोत, ऊर्जा दक्षता तथा नवीकरणीय ऊर्जा, सिँचाइ, नदी तथा जल उत्पन्न विपद व्यवस्थापनसम्बन्धी कानून कार्यान्वयनमा ल्याउने भएको छ ।