२०८१ मंसिर ७, शुक्रवार , ०६:५८:३९ बजे

Sajhamanch
'

पारिश्रमिक नपाएपछि गिरीबन्धुका चिया मजदूरले गुहारे सरकारी निकाय

मङ्गलवार, जेठ १, २०८१

बिर्तामोड । बिर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरूले ३ महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन् ।

गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल १ सय ७० मजदूर स्थायीरुपमा कार्यरत छन् । बिर्तामोड–६ र अर्जुनधारा–११ मा गिरीबन्धु टी–स्टेटको चिया बगान र कारखाना छ ।

मजदूरहरूले पारिश्रमिक उपलब्ध गराई दिन गरेको आग्रहलाई बगान सञ्चालकले बेवास्ता गरेपछि श्रम कार्यालय, बिर्तामोड नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापालाई उनीहरुले गुहारेका हुन् ।

मजदूरहरूले सोमवार बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई ज्ञापन पत्र बुझाउँदै पारिश्रमिक उपलब्ध गराउन पहल गरिदिन माग गरेका छन् ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सईकुमार राईले २०८० फागुनदेखि चिया मजदूरले पारिश्रमिक नपाएको बताए ।

“महिनौँदेखि पारिश्रमिक नपाउँदा मजदूरहरूको बिचल्ली भएको छ”, उनले भने, “व्यवसायीहरूले खाद्यान्न समेत उधारो दिन छाडेका छन् ।” कार्यरत मजदूरहरू बगानको कच्ची आवासगृहमा बस्दै आएका छन् ।

अतिरिक्त आयस्रोत नभएका कारण मजदूरहरू भोकमरीमा परेको विषयलाई सरकारले गम्भीर रूपमा लिनु पर्ने मजदुर अगुवा नारायण दर्जीको धारणा छ । व्यवस्थापनले यसअघि पाक्षिक रूपमा मजदूरको पारिश्रमिक दिँदै आएको थियो ।

भुक्तानी रोकिए पनि मजदूरहरू नियमित कामकाजमा खटिइरहेका उनले जानकारी दिए । पारिश्रमिक माग्न जाँदा व्यवस्थापन पक्षले बेवास्ता गर्दै आएको उनको गुनासो छ ।

“पारिश्रमिक माग्न जाँदा बगान घाटामा छ भनेर व्यवस्थापन पक्षले हामीलाई रित्तै हात फर्काउने गरेको छ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राईले भने, “उहाँहरू पैसा छैन, ताला लगाइदिन्छु, सरकारलाई बगान जिम्मा लगाउँछु भनेर त्रास देखाउनुहुन्छ ।”

पारिश्रमिक नपाए आन्दोलनमा उत्रिन बाध्य हुने मजदूरहरूले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ । गिरीबन्धु टि–स्टेटका व्यवस्थापक सन्तकुमार राईले आर्थिक संकटका कारण मजदूरहरूलाई पारिश्रमिक भुक्तानी गर्न नसकेको बताए ।

बगान निरन्तर घाटामा गइरहेको र निकास पनि केही ननिस्किएको उनको भनाइ छ ।

श्रम कार्यालय भद्रपुरका प्रमुख सुलभ श्रेष्ठले पारिश्रमिक नपाएको गुनासो लिएर मजदूरहरू कार्यालयमा आएपछि गिरीबन्धु टी–स्टेट प्रालिलाई पत्राचार गरिएको बताए ।

“मजदुरहरू आउनुभएको थियो”, उनले भने, “पारिश्रमिक दिनु भनेर हामीले व्यवस्थापन पक्षलाई लिखित आग्रह गरिसकेका छौं ।”

सम्बन्धित खबर