२०८१ मंसिर १२, बुधवार , ०७:५९:०७ बजे

Sajhamanch
'

झापा गाउँपालिकाले दियो ५ वटा माविका ९ मा पढ्ने ३४३ विद्यार्थीलाई साइकल

सोमवार, वैशाख ३१, २०८१

भद्रपुर । झापा गाउँपालिकाले कक्षा ९ मा पढिरहेका ३४३ जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न सहज बनाउने उद्देश्यले साइकल वितरण गरेको छ ।

पालिका भवनमा आयोजित कार्यक्रममा उनीहरुलाई पालिकाको आ व २०८०/०८१ को शिक्षातर्फ विनियोजित बजेटबाट टेन्डर प्रक्रिया मार्फत करीब २९ लाख रुपैयाँमा खरिद गरिएको ३९४ वटा साइकल वितरण गरिएको हो ।

शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा पालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलियाले उच्च शिक्षा पढ्ने विद्यार्थी विद्यालय जानबाट बन्चित नहुन् भन्ने मनशायले पालिकामा रहेका ५ वटा माध्यमिक विद्यालयका कक्षा ९ मा पढ्ने विद्यार्थीलाई साइकल प्रदान गरिएको बताइन् ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले अगाडि बढाएको शिक्षा, स्वास्थ्य सुधार लगायत विषयलाई निरन्तरता दिइने बताउँदै उनले शिक्षामा सुधार ल्याउन कक्षा ८ देखि १० सम्मका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई निःशुल्क कोचिङ कक्षाको समेत व्यवस्था गरिने बताइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले गाउँपालिकाले शिक्षामा ३ करोड रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गर्दै साइकल वितरणसँगै विद्यालयमा छात्राहरूको संख्या बढ्नुले कार्यक्रमको प्रभावकारिता पुष्टि गरिदिएको बताए ।

सो पालिकाका शिक्षा शाखाप्रमुख जीवनप्रसाद ढकालले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा डिल्लीराज माविका १३५, जनता माविका १३१, जनकल्याण माविका ३५, कुवाडी माविका २८ र महेन्द्र माविका २४ जना छात्रछात्रालाई साइकल वितरण गरिएको थियो ।

२०७५ सालमा उक्त पालिकाको अध्यक्षमा निर्वाचित भएपछि छात्राहरुलाई साइकल बाँड्न शुरु गरेका जयनारायण शाहले दोस्रो कार्यकालमा भने छात्रहरुलाई समेत दिन थालेका हुन् ।

बहुसंख्यक मुस्लिम, आदिवासी, विपन्न परिवारको बसोबास रहेको उक्त गाउँपालिकामा कक्षा १२ सम्म पढ्ने विद्यार्थीलाई समेत छात्रवृत्ति दिने गरिएको छ ।

सम्बन्धित खबर