
काठमाडौं । मलेसियन सुपर वुमन्स लिग २०२४ मा नेपालका तीन खेलाडीले प्रभावशाली प्रदर्शन गरेका छन्।
आइतबार सकिएको लिगमा नेपालकी सीता रानामगर आबद्ध वेस्टर्न वन्डर्सले उपाधि जित्यो। फाइनलमा वेस्टर्नले साउदनलाई ५ रनले पराजित गर्यो। साउदनमा नेपालकी कविता कुँवर आबद्ध थिइन्।
सीता, कवितासहित नेपालबाट इन्दू बर्मा, रुबिना क्षेत्री र पूजा महतोले छुट्टा-छुट्टै टिमबाट खेलेका थिए। जसमा शीर्ष तीन अवार्ड नेपालकै खेलाडीले जित्न सफल भए।
१५० रन र आठ विकेट लिएकी सीता रानामगरले प्रतियोगिताको सर्वोत्कृष्ट (प्लेयर अफ दि सिरिज) भइन्। सीता सर्वाधिक रन बनाउने खेलाडीको तेस्रो स्थानमा र बढी विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा थिइन्।
प्रतियोगिताभर सर्वाधिक १९४ रन बनाएकी रुबिना क्षेत्री उत्कृष्ट ब्याटर घोषित भइन्। सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा नेपालकै सविता कुँवर (१५३ रन) थिइन्।
यस्तै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा रहेकी पूजा महतोले उत्कृष्ट बलरको अवार्ड पाउन सफल भइन्। उनले प्रतियोगिताभर ९ विकेट लिइन्।