२०८१ मंसिर ८, शनिवार , ०९:३५:३५ बजे

Sajhamanch
'

स्वबोध गराउँदै ‘बोध विज्ञान’ सम्पन्न

आइतवार, वैशाख २३, २०८१

काठमाडौं । सहभागीलाई स्वबोध गराउँदै एकसाता लामो साधनामुखी कार्यक्रम बोध विज्ञान शनिवार समापन भएको छ ।

जीवन विज्ञानको आयोजनामा वैशाख १६ गतेदेखि काठमाडौंको बानेश्वरमा शुरु ध्यान साधना सम्बन्धी सो कार्यक्रममा जीवन विकास विशेषज्ञ श्रद्धेय रमेश नेपाल र एल पि भानु शर्माले मानिसलाई आफूतर्फ फर्कन अध्यात्मको वैज्ञानिक र प्रयोगात्मक सूत्रहरूको अभ्यास गराए ।

विशेषज्ञद्वयले योग, ज्ञान र ध्यानका माध्यमबाट सहभागीलाई आफूतर्फ फर्कने र आफ्नो क्षमताको पहिचान गर्ने प्रयोग र अभ्यास गराएका थिए ।

उनीहरूले मानिसको जीवनमा सकारात्मक परिवर्तन र सिर्जनात्मक सोचका लागि मानिसले अपनाउनु पर्ने नवव्रतको पालना र त्यसले मानिसको जीवनमा ल्याउने परिवर्तनको अभ्यास समेत गराए ।

५०० बढीको सहभागिता रहेको कार्यक्रमबाट आफ्नो जीवनको सोच्ने शैली नै परिवर्तन भएको प्रतिक्रिया सहभागीले दिएका छन् । सुनसरीको बराहक्षेत्रका शिक्षक विदुर भट्टराईले बोध विज्ञानले ज्ञानको क्षेत्र फराकिलो बनाएको बताए ।

उनले आफूले पढ्दै र पढाउँदै आएको ज्ञानको क्षेत्र साँघुरो भएको महसूस गरेको र स्वअध्ययनलाई बढाउनुपर्ने अनुभूति भएको बताए ।

बुटवलबाट सहभागी व्यवसायी दिलु शर्मा (घिमिरे) ले सातदिनको कार्यक्रममा आफूभित्रको अहंकार हराउँदै गएको महसूस भएको बताइन् । उनले आफ्नो स्वास्थ्यमा समेत सुधार आउँदै शारीरिक कमजोरीपनि हटेको अनुभूति भएको बताइन् ।

इटहरीबाट सहभागी पूर्वबैंकर नवराज ढकालले समस्या अरुमा नभएर आफूमा भएको महसूस गरेको बताउँदै बोध विज्ञानबाट समस्या समाधानका लागि आफू परिवर्तन हुनुपर्ने रहेछ भन्ने बोध भएको बताए ।

कार्यक्रमले अरुलाई दोष देखाएर समस्याबाट पन्छिन नहुने रहेछ भन्ने महसूस गराएको ढकालको भनाई छ । भरतपुर महानगरपालिका वडा नं. १८ का वडा सदस्य लक्ष्मी अधिकारीले बोध विज्ञानले लक्ष्यसँग एकाकार गराएको बताइन् ।

सबैलाई आध्यात्मिक ज्ञान दिनसके देशमा सुशासन आउने र नागरिकले सजिलै सेवा पाउने अवस्था बन्ने रहेछ भन्ने महसूस भएको उनले बताइन् ।

बनेपाको नैनी सारण्य गुरुकुलम संस्कृत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि कुईंकेलले जीवन रुपान्तरणको विधि बोध विज्ञानले दिएको बताउँदै आफूले पाएको ज्ञान अरुमा बाँड्नु पर्ने बोध भएको बताए ।

कार्यक्रममा कर्मचारी, शिक्षक, व्यवसायी, विद्यार्थी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरू देशका विभिन्न ठाउँ र नेपाल बाहिरका विभिन्न देशबाट सहभागी भएका छन् । आइतवार (आज) देखि साधनाको अर्को चरणको कार्यक्रम ‘लय विज्ञान’ शुरु हुँदैछ ।

सम्बन्धित खबर