
काठमाडौँ । बंगलादेशमा सम्पन्न यू‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा नेपाली टोली दोस्रो भएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा नेपाली टोली आयोजक बंगलादेशको रातो टोलीसँग पराजित भएको थियो ।
बंगलादेश निलोलाई हराउँदै नेपाली टोली प्रतियोगिताको फाइनलमा पुगेको थियो । त्यसपछि नेपाली टोलीले बंगलादेशको रातो टोलीसँग फाइनलमा भिडन्त पक्का गरेको थियो ।
उक्त प्रतियोगितामा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै भक्तपुरबाट खेलाडीहरु सुरेश मल्ल, यज्ञराज जोशी, अभिषेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, ईज्जत दनै, सशी पुलामी मगर र भुवन तामाङ बंगलादेश गएका थिए ।
बंगलादेश गएको नेपाली टोलीको ब्यवस्थापकमा दीपक थापा, प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का रहेका थिए ।