
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको टोली दिल्ली क्यापिटल्सले ह्यारी ब्रुकको स्थानमा दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लिजाड विलियम्सलाई अनुबन्ध गरेको छ ।
हजुरआमाको मृत्युपछि ह्यारी ब्रुक आईपीएलबाट बाहिरिएकाले विलियम्सलाई अनुबन्ध गरेको दिल्ली क्यापिटल्सले जनाएको छ । विलियम्स ५० लाख भारुको आधार मूल्यमा क्यापिटल्समा सामेल भएका छन् । आईपीएलमा उनको यो पहिलो खेल हुनेछ ।
क्यापिटल्सले दक्षिण अफ्रिकाकै लुङ्गी एनगिडीलाई आफ्नो क्लबमा राखेको थियो तर उनी पनि घाइते भएका कारण खेल्न नसक्ने भएका छन् । अहिले अनुबन्ध भएका विलियम्सले ८३ वटा टी–२० खेलमा १०६ विकेट लिएका छन् । उनले सन् २०२२ को अप्रिलमा भारतसँगको खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।पाँच खेलमध्ये चार वटामा पराजय भएको दिल्ली क्यापिटल्स अहिले अङ्क तालिकाको पुछारमा छ ।