२०८१ पौष २७, शनिवार , १०:३६:०३ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षक पुरस्कृत

मङ्गलवार, चैत १३, २०८०

धनकुटा । मुख्यमन्त्री केदार कार्कीले अन्तर्राष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलबार धनकुटामा पुरस्कृत गरेका छन् ।

सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेका हुन् ।

सम्मानित हुने खेलाडीहरूमा साउदी अरेबियामा सम्पन्न भएको वाफ महिला फुटबल च्याम्पियनसिपमा रजत पदक प्राप्त खेलाडीहरू सविता राना मगर, अमिसा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिसा बस्नेत, प्रीति राई, अन्जिला तुम्बाप्पो र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको छ ।

यसैगरी मलेसियामा सम्पन्न भएको आईटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप २०२३ मा स्वर्ण पदक विजेता सजिना तामाङलाई नगद ५० हजारसहित सम्मान गरिएको छ ।

यस्तै, मुख्यमन्त्री कार्कीले चीनमा सम्पन्न भएको १९औँ एसियाली गेम्समा महिला कबड्डीतर्फका कास्य पदक विजेता मुख्य प्रशिक्षक पार्वती राईसहित खेलाडी मेनुका राजवंशी, अनुजा कुलुङ राई र ईशा राईलाई जनही २ लाख रुपैयाँसहित सम्मान गरेका छन् ।

सोही प्रतियोगितामा रजत पदक विजेताका प्रशिक्षक धनकुटाका कुशल श्रेष्ठलाई समेत नगद २ लाख रुपैयाँ र कदरपत्र प्रदान गरिएको छ ।

खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशले खेल र खेलाडीको विकासका लागि आवश्यक बजेटको प्रबन्ध गरेको बताए । खेल कक्षाकोठा बाहिरको सिकाइका साथै रोजगारीको स्रोत पनि भएकाले सरकारले प्रदेश खेलकुद विकास बोर्डमार्फत अन्तर्राष्ट्रियस्तरमा भएका खेलका बिजेताई सम्मान गर्ने कार्ययोजना बनाएको मुख्यमन्त्री कार्कीले बताए ।

उनले प्रदेश खेलकुद विकास बोर्डले स्पष्ट कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय खेलमा पदक जित्ने खेलाडी उत्पादनका लागि आएको अवस्थामा प्रदेश सरकारले बजेट अभाव हुन नदिने प्रतिवद्धता पनि जनाएका छन् ।

सम्बन्धित खबर