मिक्लाजुङ (मोरङ) । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मोरङको मिक्लाजुङमा मंगलबार एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
मिक्लाजुङ्ग गाउँपालिकाको तोरीबारीस्थित देवकोटा माध्यमिक विद्यालयको परिसरमा हिजो मंगलबार स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । मिक्लाजुङ्ग वडा नं. ८ को सह–आयोजना, नोबेल मेडिकल कलेज विराटनगरको प्राविधिक सहयोग तथा समाजसेवी सूर्यप्रसाद रिमालसँगको सहकार्यमा सो स्वास्थ्य शिविर गरिएको थियो ।
शिविरमा जेनेरल मेडिसिन तथा मुटुरोग, प्रसुती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाक कान घाँटी, आँखा परीक्षण तथा उपचार, दन्त सेवा, भिडियो एक्स–रे सेवा, इसिजी सेवा, ल्याब (प्रयोगशाला)को सुविधासहित विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा २८१ जना महिला र १६४ पुरुष गरी ४४५ जना स्थानीयले प्रत्यक्ष रुपमा स्वास्थ्य परीक्षण सुविधा लिएका र आवश्कता अनुसारको औषधीसमेत निःशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिएका छन् ।
शिविरमा उपचार हुन नसकेका ५५ जना विरामीलाई नोबेल मेडिकल कलेज विराटनगरमा विशेष छुट तथा सुविधाका साथमा उपचारका लागि रेफर गरिएको नोबेल मेडिकल कलेजका चिफ मार्केटिङ्ग अफिसर नविन दाहालले जानकारी गराए ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य उपचारमा सबैको समान पहुँच हुनुपर्ने कुरालाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सम्बन्धी कार्य गर्दै आएको र सोही अनुसार नै शिविर सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा संचालित शिविरमा मिक्लाजुङ्ग गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले प्रमुख अतिथिको आतिथ्यता गर्दै स्थानीय तहसँग समन्वय गर्दै सिम्रिक सहकारी र नोबेल मेडिकल कलेजले पुर्याएको सहयोगलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा संस्थाका सचिव इन्द्रबहादुर कार्कीले शाब्दिक स्वागत गरेका थिए भने संस्थाका विभागीय प्रमुख प्रेम बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।