झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खेलकुद उपसमितिले गत फागुन २६ गते शनिबार कर्मचारीस्तरीय सुपर सिक्स क्रिकेट प्रतियोगिता सम्पन्न गरेको छ ।
अर्जुनधारा ७ स्थित समाज सुधार संघको खेल मैदानमा आयोजित क्रिकेट प्रतियोगितामा संस्था अन्तरगतको चौथो व्यवसाय सहकारी पसलले यो वर्षको उपाधि हात पारेको छ ।
प्रतियोगितामा बचत तथा ऋण व्यवसाय र एनएमसी एग्रो फार्मको संयुक्त टिम उपविजेता बनेको थियो । संस्था अन्तर्गतका विभिन्न व्यवसायमा कार्यरत कर्मचारीहरुको अलग अलग ९ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए ।
कर्मचारीहरुको शारीरिक र मानसिक स्वास्थ्यका लागि यस प्रकारका खेलहरु विगत वर्षदेखि नै सो उपसमितिले सञ्चालन गर्दै आएको जनाइएको छ ।
विजेता र उपविजेता टिमलाई प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।
प्रत्येक खेलमा उत्कृष्ट हुने खेलाडीलाई म्यान अफ दि म्याच, बेस्ट बोलर, बेस्ट व्याट्समेन घोषणा गर्दै खेलाडीहरुलाई प्रशंसा गरिएको थियो ।
उपसमितिका संयोजक नविन भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगिताको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नं ७ का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाको प्रमुख आतिथित्यमा गरिएको थियो ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा उपसमितिका सदस्य दिलेन्द्रकुमार कार्कीले खेलाडी तथा आमन्त्रित अतिथिहरुलाई शाब्दिक स्वागत गरेका थिए ।