हल्दिबारी । झापाको हल्बिारीका ४० जना विपन्नलाई आज कम्बल वितरण गरिएको छ । हल्दिबारी ४ स्थित सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिर एवं किरातेश्वर गुरुकूलममा शुरु भएको गरुड पुराणको अवसरमा विपन्न परिवारलाई कम्बल वितरण गरिएको हो ।
लायन्स क्लब अफ बिर्तामोड लेडी र हल्दिबारी गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष होमप्रसाद चुडालको सौजन्यमा कम्बल वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली, लायन्स क्लबका डिष्ट्रिक चिफ निरज ओली, नेपाली कांग्रेस हल्दिबारीका अध्यक्ष गंगा प्रसाईलगायतले विपन्नहरुलाई कम्बल प्रदान गरेका हुन् ।
जाडो बढेसँगै विपन्न परिवारलाई लक्षित गरी लायन्स क्लब अफ बिर्तामोड लेडीसँगको समन्वयमा कम्बल वितरण गरिएको पूर्व वडाध्यक्ष चुडालले बताए । पुराण आयोजक समितिका अध्यक्ष बलराम गिरीको अध्यक्षता एवं हल्दिबारी गाउँपालिका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा २६औं वार्षिक उत्सव एवं १७औं गरुड पुराण शुरु गरिएको हो ।
उद्घाटन कार्यक्रमलाई प्रमुख अतिथि लिङ्देन, गाउँपालिका उपाध्यक्ष मैनाली, कांग्रेस गाउँ सभापति प्रसाईं, समाजसेवी नितेश साहालगायतले मन्तव्य राखेका थिए । पण्डित सोमनाथ सुवेदीले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन देविका अधिकारीले गरेकी थिइन् ।
गुरुकूल संचालन गर्नका लागि पुराणको आयोजना गरिएको जनाइएको छ । पुराणमा कथावाचक भारत दार्जीलिङका ख्यातिप्राप्त पण्डित दीपकिशोर भट्टराई साथै सहवाचकमा हल्दिबारी ४ का युवा पण्डित सुजन सुवेदी रहेका छन् ।