
काठमाडौं । जनसंगठनको सहकार्यमा भूमिका निर्वाह गरेको भन्दै नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघका अध्यक्ष एलपी साँवा लिम्बूलाई प्रेस चौतारी नेपालले सम्मान गरेको छ ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रेस चौतारीका इञ्चार्ज राजेन्द्र गौतम र अध्यक्ष गणेश बस्नेतले महासंघका अध्यक्ष साँवालाई खादा लगाएर सम्मानित गरेका हुन् ।
एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित बैठकमा एमालेले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले प्रेस चौतारी नेपाललाई सहयोग गरेकोमा अध्यक्ष साँवालाई सम्मान गरिएको चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिएका छन् ।
मंसिर १४ गतेदेखि पुस १ गतेसम्म सञ्चालित एमालेको संकल्प यात्राका लागि उद्योग ब्यवसाय महासंघले प्रेस चौतारीलाई सवारी साधन उपलब्ध गराएको थियो । महासंघले गरेको सो सहयोगको सराहना गर्दै प्रेस चौतारीले सम्मान गरेको हो ।
सो अवसरमा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालसहित सबै जनसंगठनका अध्यक्ष तथा इञ्चार्जहरुको सहभागिता रहेको थियो ।