बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ शनिश्चरेरोड क्षेत्रमा रहेको पाथीभरा टोल सुधार संस्थाको १६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष तेजप्रसाद शिवाकोटीको अध्यक्षता तथा कोशी प्रदेशका सांसद तथा निवर्तमान मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्था विभिन्न क्षेत्रमा उत्कृष्टलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अथिति एकराज कार्कीले व्यवस्था परिवर्तन भए पनि जनअपेक्षा अनुसार अवस्था परिवर्तन नहुँदा व्यवस्था माथि प्रहार हुन थालेको बताए ।
प्रजातन्त्र र लोकतन्त्रका लागि लडेकै कारण प्रजातान्त्रिक आन्दोलनका योद्धा सिके प्रसाईको सर्वस्वहरण भएको स्मरण गर्दै सांसद कार्कीले भने, ‘सिकेले शुरू गरेको आन्दोलन धरासायी हुने अवस्था देखिनु दुःखद हो ।
उनले थपे, ‘व्यवस्था ठिक भए पनि अवस्था फेरिन नसक्दा व्यवस्था माथि नै धावा बोल्ने काम भएको छ, नागरिकले अवस्था परिवर्तन चाहेको छ, अवस्था परिवर्तनका लाग नयाँ सोचका साथ जनप्रतिनिधि र राज्य सञ्चालकहरूले सच्चिन जरूरी छ ।’
जनताले ल्याएको उत्कृष्ट व्यवस्था माथि धावा नबोल्न सुझाउँदै कार्कीले भने, ‘लोकतन्त्र विरोधीले शिर उठाउन खोजे पनि त्यो असंभव छ ।’
संविधानका सबै धारा प्रयोग गरिसक्दा पनि प्रदेशमा सरकारको स्थायित्व नहुनु काहीँ नभएको जात्रा हाँडी गाउँको भने झै भएको टिप्पणी गर्दै पूर्वमन्त्री कार्कीले कोशीमा आवधिक निर्वाचन भएको एक वर्षमा ५ वटा सरकार परिवर्तन हुँदा व्यवस्था माथि निराशा बढेको बताए ।
उनले भने, ‘संविधानका सबै धारा प्रयोग भइसकेका छन्, यो सरकार पनि कति दिन टिक्छ थाहा छैन ? कोशी सबैको साझा भएकै कारण प्रदेशको नाम कोशी राखिएको स्पष्ट पार्दै नाम परिवर्तनका लागि संवैधानिक प्रक्रिया पूरा गरेर अघि बढ्न पहिचानवादीहरुलाई उनको सुझाव थियो ।
पाथीभरा टोल सुधार संस्थालाई ज्येष्ठ नागरिक भवन निर्माणका लागि प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण सर्वस्वहरणमा परेका सिकेकी धर्मपत्नी गिरीराजकुमारी प्रसाई र उनका सन्नती प्रति आदरभाव प्रकट गर्दै सांसद कार्कीले सिकेलाई सम्झिन छुटाएनन् ।
हरिप्रसाद ढकाललाई ज्येष्ठ नागिरक सम्मान गरिएको कार्यक्रममा प्रमिला ढकाल वर्षोत्कृष्ट बुहारी, उत्कृष्ट सरसफाइ वातावरण सम्मान रोड नं ४ कि देवी कुँवरलाई सम्मान पत्र र नगदसहित सम्मान गरिएको थियो ।
त्यस्तै भवन निर्माणका लागि सहयोग गर्ने उषा प्रसाई बस्नेतलाई सम्मान गरिएको कार्यक्रममा एसईई उत्कृष्ठ विद्यार्थीहरु सृजन सिटौला र रोसिका उप्रेतीलाई नगदसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।
सो अवसरमा वडा नं. ५ का वडाध्यक्ष रोहित प्रसाईले एकजुट भए हरेक काम गर्न संभव छ भन्ने उदाहरण हो पाथीभरा टोलले दिएको बताउँदै टोललाई उत्कृष्ठ बनाउने कार्यमा सक्दो साथ रहने बताए ।
वडा र नगरको मेरुदण्ड भनेकै टोल रहेको बताउँदै वडाध्यक्ष प्रसाईले टोललाई राम्रो बनाउन आफू सधैं लागिपर्ने पनि बताए । बिर्तामोड ५ मा ४९ वटा टोल सुधार समिति रहेका छन् ।
संस्थाका अध्यक्ष शिवाकोटीले संस्थाको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा संगीताबाबा प्रसाई, पूर्व अध्यक्ष मोहन ओली, बालकृष्ण रिमाल, ज्येष्ठ नागरिक समितिका अध्यक्ष भवानी चिमरिया, महिला समितिका अध्यक्ष कमला प्रसाई लगायतले मन्तव्य राखेका थिए ।
ज्येष्ठ नागरिक भवन निर्माण समितिका संयोजक नारायण चिमरियाले स्वागत तथा भवन निर्माण सम्बन्धी विवरणहरु प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव छवि बरालले गरेका थिए ।