
काठमाडौं । नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको छ । तीनै तहका सरकारको संयुक्त पहलमा नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको हो । १० हजार नाघेको अवसर पारेर वाग्मती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरको हाकपारास्थित ‘मरिन खोला झोलुङ्गे पूल’को उद्घाटन विशेष कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
नेपालमा झोलुङ्गे पूलको निर्माण अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी भएका छन् । देशभरि कूल ७३० वटा पूल निर्माणको लक्ष्य राखिएकोमा अघिल्लो वर्ष ७४४ वटा निर्माण सम्पन्न भएको थियो ।
झोलुङ्गे पूलबाट कूल जनसंख्याको करिब दुई तिहाई आम नेपालीले सुरक्षित खोला, नदी तर्ने साधनको रुपमा उपभोग गरेका छन् । यसले जोखिमपूर्ण अवस्थामा रहेका तुइन यात्रा क्रमशः विस्थापित गर्दै लगेको छ । एक आंकडाअनुसार दैनिक १० लाख मानिस पूलमा आवतजावत गर्ने गरेका छन् ।
विद्यालय, स्वास्थ्य केन्द्र, सरकारी वा प्रशासनिक सेवा, बजार, व्यापार व्यवसायका लागि आवतजावतमा सहजता थपिएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठका अनुसार झोलुङ्गे पूलको निर्माण अहिले देशैभरि द्रूत गतिमा भइरहेका छन् ।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी यस्ता पूल निर्माण भएका छन् । नेपालमा झोलुङ्गे पूलको संख्या १० हजार नाघेको अवसर पारेर वाग्मती प्रदेश सरकारले सिन्धुलीको हरिहरपुरमा विशेष कार्यक्रमको आयोजना गरेको पनि उनले बताए ।
साथै अहिले सातैवटा प्रदेशमा फोटो प्रदर्शनी भइरहेको पनि सचिव श्रेष्ठले जानकारी गराए ।
सिन्धुलीमा भएको विशेष कार्यक्रममा सहरी विकास मन्त्री सीता गुरुङ, वाग्मती प्रदेशका मुख्य मन्त्री शालिकराम जमकट्टेल, प्रदेश मन्त्री युवराज दुलाल, स्वीस राजदूत डेनियल मोउली, हेल्भेटासका कन्ट्री डाइरेक्टर डा. पविण मानन्धर, सांसद सुशीला तामाङ, लेखनाथ दाहाल, गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवालगायतको उपस्थिति थियो ।
ईन्जिनियर दिनेश पाण्डेयका अनुसार नेपालमा भइरहेको झोलुङ्गे पूल निर्माण एसिया र अफ्रिकाका देशमा पनि उदाहरणीय मानिएको छ । “नेपालले अहिले अरु देशलाई पनि सिकाउँछ । एसिया, अफ्रिकालगायतका देशमा समेत हाम्रो प्रविधिअनुसार बनाउन सुरू गरिएको छ,” पाण्डेयले भने ।
नेपालमा ग्रामिण यातायातको पूर्वाधारको प्रमुख आवश्यकता मानिने झोलुङ्गे पूल निर्माणमा सन् १९६४ देखि नै स्वीस सहयोग प्राप्त भएको थियो ।
त्यसयता उक्त सहयोगले निरन्तरता पाएको छ । स्वीस सहभागितामा झोलुङ्गेपूल कार्यक्रममा भौतिक आर्थिक, प्राविधिक र व्यवस्थापकीय सहयोगसहित जनशक्ति विकासमा पनि सहयोग रहेको छ ।
अहिले स्वीसको प्राविधिक सहयोगमा तीनै तहका सरकार मिलेर झोलुङ्गे पूल निर्माण भइरहेका छन् । नेपालमा झोलुङ्पूलको इतिहास राणाकालीन भए पनि संघीयतापछि तीनै तहको समन्वयमा पूलको निर्माण द्रूत गतिमा भएको पाइएको छ ।
रोशी खोलाको पूल, पाल्पाको दोभान, काठमाडौंको चोभारलगायतका स्थानमा रहेका नेपालका पूराना पूलमध्ये मानिन्छन् । “पहिले युरोपबाट ल्याएर फिट गरिन्थ्यो,” पाण्डेयले भने । टोनी हेगनको नेपाल भ्रमणपछि झोलुङ्गे पूल निर्माणमा नेपालले फड्को मारेको थियो ।