बिर्तामोड । बिर्तामोड नगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितका लागि ५ लाख रुपैयाँ राहत प्रदान गर्ने भएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (सोमबार) बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
घटनाको बारेमा दुःख व्यक्त गर्दै नगरप्रमुख प्रसाईले भूकम्पबाट पीडित परिवारको उद्धारको लागि सहयोगको घोषणा गरिएको जानकारी दिइन् । नगरपालिकाले विपत व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने भएको हो ।
गत शुक्रबारको भूकम्पले जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।
नेपाल प्रहरीका अनुसार भूकम्पमा परी २४६ जना घाइते भएका थिए, उनीहरुमध्ये १४६ जना प्राथमिक उपचारपछि घर फर्किएका छन्, ११० जना घाइते विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।