ईलाम । रामसार क्षेत्रमा सूचीकृत धार्मिक तथा जैविक विविधताको संगमस्थल माइपोखरीमा त्रि–धार्मिक महा-उत्सवको तयारी तिव्र बनाइएको छ। विश्वशान्तिको कामनासहित माइपोखरीमा आउँदो मंसिर १ देखि ८ सम्म हिन्दू, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रूपमा महा-उत्सव आयोजना गर्दैछन्।
महा-उत्सवको अवसरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ आयोजना गरिने छ। बौद्धगुरु र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चारणलगायत गर्नेछन्। महा-उत्सवका लागि अहिले भिरालो जमिन सम्याउने काम भइरहेको छ। अन्य भौतिकसहितका सबैखाले तयारी तिव्र पारिएको आयोजक प्रचार समिति संयोजक श्यामकुमार राईले जानकारी दिए।
महा-उत्सवका लागि आर्थिक सहयोग गर्न बैंक खातासमेत खोलिएको छ। माइपोखरीसम्म पुग्ने अप्ठ्यारो सडक मर्मत गरिँदैछ। महा-उत्सवका लागि ‘हामी सबैको योगदान, माइपोखरी प्रचारप्रसारको महाअभियान’ नारा तय गरिएको छ। ‘अहिले महोत्सवको प्रचारलाई नै तीव्र बनाइएको छ, पाहुनालाई निम्तो बाँड्दैछौं,’ संयोजक राइईले भने, ‘सबैखाले तयारी गरिरहेका छौं।’
माइपोखरी दर्शन–अवलोकन, माइपोखरी परिसरका सत्यधुनी, पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन र दर्शन, महाउत्सवभर हरेक साँझ वनासरबाट आएका गुरुहरूबाट माइपोखरी महाआरती, सांस्कृतिक झाँकी प्रदर्शन, सनातन, बौद्ध र किरात गुरुबाट प्रवचन यसका मुख्य आकर्षण रहेको उनले बताए।
‘हरेक साँझ महात्म्य भजनकीर्तन, ज्ञानमञ्च र प्रवचन हुनेछन्,’ राईले भने, ‘प्रदेशकै प्रख्यात पर्यटकीयस्थलसमेत रहेको माइपोखरीबाट तीन देशका हिमाल देखिनु आफैंमा अर्को आकर्षण हो।’ पुवामाईको शिर, १८ भन्दा बढी प्रजातिका गुराँस पाइने छिन्टापु, मेचीकै अग्लो टोड्के झरनालगायत पनि नजिकै रहेकाले महाउत्सवमा आगन्तुक पाहुनाको संख्या धेरै हुने आशा गरेको उनको भनाइ छ।
माइपोखरीलाई पर्यटकीय–धार्मिक केन्द्रका रूपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रूपमा प्रवर्द्धन तथा बहुआयामिक अनुसन्धानस्थलका रूपमा विकास गर्दै माइपोखरी क्षेत्र विकास कोषसमेत स्थापना गर्ने महाउत्सवको मुख्य लक्ष्य रहेको आयोजक समिति संयोजक प्रेम नाछिरिङ राईले जानकारी दिए। ‘माइपोखरी देशको मात्र नभइ अन्तर्राष्ट्रियस्तरको महत्त्वपूर्ण सम्पत्ति हो,’ उनले भने, ‘यसको महत्त्व संसारभर प्रचार गर्न महाउत्सव आयोजना गर्न लागेका हौं।’
माइपोखरी इलाम सदरमुकामबाट करिब १३ किलोमिटरको दुरीमा पर्छ। बिब्ल्याँटेबाट माइपोखरीसम्मको करिब ७० प्रतिशत सडक कालोपत्रे भइसकेको छ भने बाँकी कच्ची सडक पनि सहज रहेकाले आगन्तुकलाई यहाँसम्म आइपुग्न समस्या नभहुने आयोजकले जनाएको छ।
यसपटक ठूलो संख्याका पर्यटक आकर्षित गर्नेगरी महाउत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। माइपोखरीमा २०७० असार ८ देखि १० सम्म यस्तै बहुधार्मिक उत्सव सञ्चालन गरिएको थियो। माइपोखरीमा कुनै ‘अनिष्ट’ भए पानी सुक्ने जनविश्वासमा स्थानीयले विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्नेगरेका छन्।
दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माइपोखरीमा १४ प्रजातिका स्तनधारी, १२ प्रजातिका सरिसृप, छ प्रजातिका उभयचर पाइन्छन्। रुख भ्यागुत्तो, ठकठके, खस्रेपाहा, आहाले पाहा, ट्यांट्याङ पाहा, हरियो छेपारो, चंखे सर्प र विश्वको लोपोन्मुख ओंत पाइने अध्ययनले देखाएका छन्। तीन प्रजातिका रैथाने माछा, काकाकुल, भुँडीफोर, हिमाली गिद्धजस्ता तीन सय प्रजातिका पंक्षी ओहोर–दोहोर गर्छन् माइपोखरीमा। श्रीलंका–साइबेरिया आउ–जाउ गर्ने चराको मार्ग पनि माइपोखरी नै रहेको चराविद् बताउँछन्। यहाँ ६२ प्रजातिका जडीबुटी पाइने अध्ययनले देखाएका छन्। २८ अक्टोबर सन् २००८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दसौं बैठकले माइपोखरीलाई विश्वसम्पदा सूचीमा राखेको थियो।