काठमाडौं । यस वर्षको तिहारमा ४० लाख थान मालाको खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार नेपालमा फूल खेतीमा देखिएको आर्कषणका कारण मागको ८० प्रतिशत हिस्सा भने नेपाली फूलको उत्पादनले नै धान्ने देखिएको छ ।
तिहार सुरु हुन दुई साता मात्रै बाँकी रहँदा फूल टिप्न र माला बुन्नका लागि किसानहरुले तयारी थालिसकेको एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङका अनुसार यस वर्षको तिहारका लागि सयपत्री, मखमली, गोदावरी लगायतका फूलका मालामा लगभग नेपाल आत्मनिर्भर भएको बताए ।
उनकाअनुसार यस वर्ष नेपालमा ३५ लाख सयपत्री माला, ४ लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार हाराहारी मिक्स माला खपत हुने देखिएको छ । त्यसमध्ये मिक्स मालाका लागि आवश्यक पर्ने गुलाव लगायतका फूलहरु भने आयात गर्नुपर्ने देखिएको संघले जनाएको छ ।
सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेका कारण फूल र मालाको मूल्य बढ्ने देखिएको व्यवसायीहरुको दाबी छ ।
यसवर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य ७५ र खुद्रा मूल्य १२५ देखि १५० रुपैयाँसम्म पर्ने देखिएको एसोसिएसनले जनाएको छ ।
यस्तै, मखमलीको मालाको मूल्य थोकमा ४५ र खुद्रामा ६० देखि ७० रुपैयाँ पर्ने देखिएको छ । मिक्स माला होलसेलमा ३ सय र खुद्रामा ५ सय रुपैयाँसम्म पर्न जाने एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन् ।
यस्तै, गोदावरी फूलको मालामा भने एक हजार रुपैयाँबाट सुरु भएर ३ हजार रुपैयाँसम्म पर्ने एसोसिएसनले अनुमान छ ।
‘किसानबाट फूल किनेर बिक्री गर्ने व्यवसायीहरुको ५० लाख माथिको कारोबारमा भ्याट लाग्ने भएकाले गत वर्षको तुलनामा माला केही महँगो भएको छ,’ अध्यक्ष तामाङले भने ।
अहिले मूल्य अनुमान गरिएको माला एक मिटर आकारको भएको पनि एसोसिएसनले जनाएको छ । यद्यपि काँठ क्षेत्रका किसानले ३ देखि ४ मिटरसम्मको माला पनि बिक्री गर्ने भएकाले मालाको मूल्य थप महँगो हुन सक्ने देखिएको छ । मालाको गुणस्तर र छानोटमा भने उपभोक्ता स्वयम चनाखो हुनुपर्ने एसोसिएसनको भनाइ छ ।
एसोसिएसनका अनुसार नेपालमा हरेक वर्ष पुष्पखेती फैलिंदै गएको छ । खेती र उत्पादन बढेसँगै पुष्प कारोबार पनि वृद्धि भइरहेको छ ।
नेपालमा अहिले करिब ४४ हजार मानिसहरु पुष्प खेती र व्यवसायमा छन् । नेपालका ४८ जिल्लाका २२१ हेक्टर क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ भने यसमा ११ सय १६ जना पुष्प व्यवसायीहरु संलग्न छन् ।
आर्थिक वर्ष २०७८र७९ मा नेपालमा ३० प्रतिशतले व्यवसाय वृद्धि भएर फूलको कारोबार २ अर्ब ३० करोड पुगेको थियो ।
तर, आर्थिक वर्ष २०७९र८० मा कारोवारमा ३३.६ प्रतिशतले उछाल आएको एसोसिएसनका अध्यक्ष तामाङ बताउँछन् ।
गत वर्ष नेपालमा ३ अर्ब ७ करोड रुपैयाँ बराबरको पुष्प व्यासायको कारोबार भएको उनको भनाइ छ । सो वर्ष नेपालले ६८ करोड १८ लाख रुपैयाँ बराबरको फूल निर्यात गरेको सरकारी तथ्यांक छ ।
यस्तै नेपालले ३३ करोडको फूल आयात गरेको भन्सार विभागले जनाएको छ ।