२०८१ फागुन १२, सोमवार , १०:४०:४३ बजे

Sajhamanch
'

केपी ओली कप क्रिकेट मंसिर पहिलो साता

आइतवार, असोज १४, २०८०

पोखरा । मैदान तयार गरिएपछि पोखरामा आयोजनाको तयारी गरिएको केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता दुईमहिना पछि धकेलिएको छ। भदौमै आयोजना गर्ने गरी तयारी शुरु गरिएपनि प्रतियोगिता दुईमहिना सार्दै आगामी मंसिर ७ देखि आयोजना गर्ने निर्णय गरिएको छ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन गर्ने निर्णय गरिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगितामा सात प्रदेश, तीन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता रहने उनले बताए।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार २ लाख ५० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष आचार्यले बताए। प्रतियोगितामा म्यान अफ द सिरिजले नगद ३० हजार रूपैयाँ, बेष्ट बलरले नगद रु २० हजार रूपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्रदान गरिने छ। ७७ लाख खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ।

‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ २०६६ साल पुस १७ गते जननेता मदन भण्डारीको नाममा स्थापना भएको एकेडेमीले मुलुकको खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले भने, ‘युवालाई खेलकुदसँग अन्तरसम्बन्धित गराई राष्ट्रव्यापी रुपमा व्यवसायिक खेलाडी उत्पादन गरी अनुशासित, मर्यादित र राष्ट्रप्रेमी नागरिक बनाउने लक्ष्य अनुरूप यसले आफ्ना सिर्जनात्मक गतिविधिहरू अगाडि बढाइरहेका छौं’ उनले आयोजना हुने टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता त्यसैको एक श्रृंखला समेत रहेको बताए।

पूर्व राष्ट्रिय क्रिकेटर तथा एकेडेकी क्रिकेट विभाग प्रमुख शक्ति गौचनले क्रिकेट खेलको विकासका लागि एकेडेमीका संरक्षक तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा हुने प्रतियोगिताले सबै खेलाडीहरुलाई हौसला दिने बताए। उनले एकेडेमीले समावेश गर्ने २ टिम ट्यालेन्ट हन्टबाट छनोट गरिने बताए। ‘हामीले देशव्यापी रुपमा खेलाडीलाई ट्यालेन्ट हन्ट गरि छनोट गर्ने छौं। यसले यूवा खेलाडीहरुले राष्ट्रियस्तरको प्रतियोगितामा सहभागि हुने मौका पाउनेछन,’ उनले भने।

एकेडेमीका सल्लाहकार मोहन रेग्मीले एकेडेमीले आयोजना गर्ने गरेको टि–२० राष्ट्रिय प्रतियोगिताले खेलाडी उत्पादन संगै खेलकुद विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले खेलकुदको विकासका लागि तल्लोतहबाट गर्नुपर्ने सुझाव दिंदै खेलकुदबाट नै अनुशाशित, राष्ट्रप्रेमी, मेहनती र प्रतिश्पर्धी नागरिक उत्पादन गर्न सकिने उल्लेख गरे। उक्त प्रतियोगिता हरेक वर्ष विभिन्न प्रदेशमा आयोजना हुने गरि तय गरिएको उनले जानकारी समेत् दिए।