२०८१ फागुन १३, मङ्गलवार , १२:५३:५० बजे

Sajhamanch
'

१९औं एसियाडको थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित

शुक्रवार, असोज १२, २०८०

हान्झाउ । चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत थ्री बाई थ्री महिला बास्केटबलमा नेपाल सबै खेलमा पराजित भएको छ ।

दोस्रो पटक एसियाडमा थ्री बाई थ्री बास्केटबल खेलेको महिला टोलीले यस पटक खेल जित्ने लक्ष्य बनाए पनि कुनै पनि खेल जित्न सकेन ।

देकिङ जिओग्राफिम इन्फरमेसन पार्क बास्केटबल कोर्टमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२-२ ले सहजै पराजित भयो । नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा गर्‍यो । नेपालका लागि कप्तान श्रेषा खड्का र मिना गुरुङले १-१ स्कोर गरे ।

यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

पहिलो खेलमा जापानसँग २२-४ ले पारजित भएको नेपाल दोस्रो खेलमा कजाखस्तानसँग १७-१० ले पराजित भएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाडमा नेपालको महिला बास्केटबल टिमले फुल कोर्टमा खेल्दै एसियाडमा डेब्यु गरेको थियो । त्यसपछि २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाडमा भने नेपालको पुरुष र महिला दुवैमा थ्री बाई थ्री टिम सहभागी थिए । यस पटक भने नेपालबाट महिला थ्री बाई थ्री टोली मात्र हान्झाउ एसियाडमा सहभागी भएका थिए ।