२०८१ फागुन ११, आइतवार , ११:३९:०३ बजे

Sajhamanch
'

माल्दिभ्सविरुद्ध नेपाल २–० ले अघि, दुई खेलाडीलाई रातो कार्ड

सोमवार, असोज ८, २०८०

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले माल्दिभ्सविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाललाई अग्रतामा राख्न प्रशान्त लक्षम र समिर तामाङले गोल गरे ।

जितको दबाबसहित मैदान उत्रिएको नेपालले सुरुआतदेखि नै आक्रमण बुनेको थियो । १७औँ मिनेटमा प्रशान्त लक्षमले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । लक्षमले करिब ३५ यार्ड परबाट गरेको लामो भलीलाई माल्दिभ्सका गोलरक्षकले नियन्त्रण गर्न नसक्दा नेपालले अग्रता बनाएको थियो ।

समिरले ३०औँ मिनेटमा गरेको गोलबाट नेपालले अग्रता दोब्बर पार्यो । मैदानको मध्य भागबाट निराजन धामीले निकालेको थ्रू बललाई एक्लै अघि बढाउँदै समिरले माल्दिभ्सका गोलकिपरलाई बिट गरे ।

३४औँ मिनेटमा नेपाल र माल्दिभ्सका समान एक खेलाडी रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि दुवै टिम १० खेलाडीमा प्रतिस्पर्धा गरिरहेका छन् । नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद इयान हसनले रातो कार्डको दर्शन गर्दै मैदान छोडेका थिए ।

समूह ‘ए’बाट सेमिफाइनल प्रवेशका लागि नेपाललाई जित्नैपर्ने दबाब छ । यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

माल्दिभ्सलाई भने सेमिफाइनल पुग्न आज बराबरीको नतिजा पर्याप्त हुनेछ । माल्दिभ्सले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

यो समूहबाट चार अंकसहित पाकिस्तान विजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।

सम्बन्धित खबर