सुनसरी। सुनसरीमा दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।
इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै माइती पक्षले उजुरी दिएका आधारमा भगतलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।
विराटनगर महानगरपालिका–१७, मटेरूवाकी २३ वर्षीया चौधरीको हत्या गरेको आरोप भगत माथि छ । उनले २१ महिना अगाडि विवाहका बेला चौधरीसँग ३२ लाख रुपैयाँ नगद, आठ तोला सुन, ९० तोला चाँदी र एक मोटरसाइकल दाइजोमा ल्याएका थिए । थप दाइजो नल्याएको भन्दै चौधरीको हत्या गरेको माइती पक्षको आरोप छ ।
हत्या भएपछि भगतलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
थप दाइजो माग्दै दिदीको हत्या गरेको भन्दै मृतकका भाइ राकेशले कारबाही गर्न माग गरेको प्रहरीले जनाएको छ । उनीहरूको ११ महिनाको छोरासमेत रहेको जनाइएको छ ।
माइती पक्षले नाबालक छोराको समेत जीउज्यानको सुरक्षा गरिदिन प्रहरी समक्ष आग्रह गरेको छ ।