२०८१ माघ २५, शुक्रवार , ११:४२:५३ बजे

Sajhamanch
'

टाँका लगाउने धागो सकिएको छ भन्दा अहेबमाथि कुटपिट

बुधवार, असोज ३, २०८०

काठमाडौं । कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अहेब नरेन्द्रप्रसाद गैरेमाथि मादक पदार्थ सेवन गरेका व्यक्तिले बिनाकसुर कुटपिट गरेको पाइएको छ ।

केन्द्रले बुधबार विज्ञप्ति जारी गर्दै असोज २ गते राति ड्युटीमा रहेका गैरेमाथि अस्पताल आएका व्यक्तिले ‘टाँका लगाउने धागो किन नभएको’ भन्दै कुटपिट गरेको जनाएको छ ।

घाइते भएका व्यक्ति बेलौरी–५, मैनाहाका बाबुराम चौधरी हुन् भने गैरेमाथि आक्रमण गर्ने बेलौरी–३, गोकुलपुरका रामु भनिने रामबहादुर खड्का रहेका छन् ।

मादक पदार्थ सेवन गरेका खड्काले गैरेमाथि किन धागो नभएको, धागो छैन भने राजीनामा दे किन काम गरिराछस् भन्दै अभद्र व्यवहार तथा कुटपिट गरेको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सक र सरकारबीच वार्ता भएको तीन दिन नबित्दै अर्का स्वास्थ्यकर्मीमाथि आक्रमण


केन्द्रको सीसीटीभी फुटेजमा खड्काले औँला उठाएर गालीगलौज गर्दै गैरेको घाँटी अठ्याएर धकेलेको देखिन्छ । खड्काले दोस्रोपटक पनि हातपातको प्रयास गरेका थिए ।

सीसीटीभी फुटेजमा दुई पक्षबीच केही समय भनाभन भएको र सुरक्षा गार्ड आएर छुट्याएपछि पनि खड्काले धम्क्याउँदै उपचार कक्षबाट बाहिरिएको देखिएको छ ।

हातपातपछि पनि गैरेले घाइतेको उपचार गरेको फुटेजमा देखिएको छ ।

के गर्न सक्छस् गर भन्दै पटकपटक अभद्र व्यवहार गरेको र घटनाबारे प्रहरीले कुनै प्रतिक्रिया नदिएको केन्द्रको गुनासो छ ।

घटनाबारे उजुरी गर्न बुधबार बिहान इलाका प्रहरी कार्यालय पुग्दा पीडितप्रति नै आक्षेप लगाउने खालको प्रतिक्रिया दिएको र दिउँसोसम्म पनि आक्रमणकारीलाई पक्राउ नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

दोषीलाई कानुनी कारबाही नगरेसम्म बिहीबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने केन्द्रले जनाएको छ ।

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ अनुसार ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने व्यक्ति कसुरदार ठहरिएमा तीन एकदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्ने व्यवस्था छ ।