
बारा । सवारी दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको एक जना बिरामीको शवलाई परिवारको जिम्मा लगाउनुको साट्टो एक अस्पतालले उपचार खर्च नदिएको भन्दै बिरामीको शवलाई नै दुई दिन देखि आफैसँग राखेको घटना सार्वजनिक भएको छ।
परवानीपुर गाउँपालिकाको बहुवरीमा रहेको एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलले वीरगन्ज श्रीपुर निवासी उमेश प्रसाद साह कानुको शवलाई दुई दिन देखि आफैसँग राखेको हो।
बिरामीको उपचारमा ३ लाख दिए पनि अस्पतालले अझै १५ लाख मागेर शव नदिएको पीडितहरुले आरोप लगाएका छन्। अस्पतालले उपचारको क्रममा उमेशलाई शुक्रबार राती २ बजे तिर नै मृत घोषण गरे पनि उनको शवलाई आइतबार ३ बजेसम्म पनि परिवारको जिम्मा नलगाइएको मृतकाको आफ्न्तहरुले गुनासो छ।
आइतबार मृतक उमेशका आफन्तहरुले अस्पतालमा शव लिन पुग्दा अस्पतालले उपचार खर्च र औषधी खर्च नदिएसम्म शवलाई नदिने भने पछि केही बेर अस्पतालमा तनाव समेत भएको थियो।
शव लिन पुगेका मृतक पक्ष र अस्पताल प्रशासन बिच विवाद बढ्दै गए पछि स्थितिलाई सामान्य बनाउन इलाका प्रहरी कार्यालय प्रसौनी नौतनका प्रमुख प्रहरी निरीक्षक दिपक बोहोराको नेतृत्वमा अस्पतालमा प्रहरी परिचालन गरिएको छ।
मृतक उमेश साह कानुका छोरी पूजा साहले बुवाको उपचार खर्च बापत अस्पताललाई तीन लाख जति दिएको र बुवाको मृत्यु पछि शव लिन आउँदा अझै अस्पतालले १५ लाख मागेर बुवाको शव दुई दिनसम्म रोकेर राखेको आरोप लगाएकी छिन्।
वीरगन्जको पावर हाउस देखि सुक्खा बन्दरगाह जाने हुलाकी सडक अन्तर्गत पर्ने सिर्सिया खोलाको पुल नजिकै असार ३ गते मोटरसाइकलको ठक्करबाट बुवाको टाउकोमा चोर लाग्दा उपचारको लागि एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलमा भर्ना गरिएको उनले बताइन्।
उपचारको क्रममा बुवा निको हुँदै गए पनि अस्पतालले डिस्चार्ज नगरी आफैसँग राखेर अनावश्यक रकम माग्ने कार्य सुरु गरेको र अस्पताललाई भने जति रकम नदिए पछि उपचारमा लापरबाही गरी बुवाको ज्यान लिएको आरोप पूजाले लगाइन्।
बुवालाई ठक्कर हान्ने व्यक्तिले एक रुपैयाँ पनि उपचार खर्च नदिएको र बुवाको तीन लाख उपचार खर्च आफन्तहरूसँग मागेर दिएको उनले बताइन्।
अस्पतालले भने जति रकम घर घडेरी बेच्दा पनि नपुग्ने अवस्था रहेकोले १५ लाख रकम तिर्न नसकिएको उनले भनिनन्।
एल।एन।न्युरो एण्ड जेनरल हस्पिटलका निर्देशक राम प्रवेश प्रसाद कुर्मीले मृतक उमेशको औषधी खर्च तीन लाख र १२ लाख उपचार खर्च गरेर १५ लाख बाँकी रहेको र शव लिन आउनेसँग अस्पतालको बाँकी रकम उठाउनको लागि शवलाई रोक्नु परेको बताएका छन्।
मृतक पक्ष र अस्पताल प्रशासन बिच रकमको बारेमा समन्वय गराउन पुगेका इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक दिपक बोहोराले दुवै पक्ष बिच कति रकम तिर्ने र कति रकम छोड्ने कुरामा छलफल गरिए पनि अहिले त्यसको निचोड निस्कन नसकिएको बताए।