२०८१ पौष १०, बुधवार , १२:१६:५८ बजे

Sajhamanch
'

ताप्लेजुङबाट साढे २५ किलो आखेटोपहार चितवन पठाइने

शुक्रवार, भदौ २९, २०८०

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले बिगत ११ बर्ष देखि बरामद गरेका वन्यजन्तुका करिव साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाउने भएको छ। डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक,भालु,रतुवा मृग, घोरल र याक÷चौंरीको करिव २५.५५१ किलोग्राम आखेटोपहार चितवन पठाइन लागिएको हो।

डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत परमेश्वर पासवानका अनुसार ०.९८१ किलोग्राम सालकको खपेटा,२.३० किलोग्राम भालुको छाला,४.४६ किलोग्रा याक÷चौंरीको छाला चितवन पठाइने छ । यस्तै रतुवा मृगको छाला १३.८८ किलोग्राम रहेको छ । यो २०७९ साल चैत २ गते बरामद भएको वन कार्यालयले जनाएको छ । यस्तै घोरलको छाला १.४४ किलोग्राम तथा अन्य मृगको छाला रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बिना इजाजत वन्यजन्तुका आखेटोपहार घरमा राख्न,खरिद बिक्री,ओसारपसार गर्न,हस्तान्तरण गरी लिनदिन नपाइने व्यवस्था रहेको छ। प्राकृतिक रुपमा मृत्यु भएका वन्यजन्तुबाट संकलन गरिएका, वन्यजन्तु अपराधमा कानुनी कारवाहीको सिलसिलामा बरामद भएका र अन्य स्रोतबाट प्राप्त हुन आएका वन्यजन्तुका आखेटोपहार जस्तै बाघ,चितुवाको छाला, हाड, खप्पर, दाह्रा,नङ्ग्रा, जुङ्गा,गैंडाको खाग, खुर, ढाल, हात्तीको दाह्रा, भालुको पित्त, कस्तुरीको विना, अजिङ्गर, रेडपाण्डाको छाला, चिरुको रौं, सालकको खपेटा र अन्य यस्तै आखेटोपहार जिन्सी खातामा आम्दानी बाँधी भण्डारण गरिदैं आएको छ। भण्डारणका लागि डिभिजन वन कार्यालयको कानुनी क्षेत्राधिकार भित्र बरामद भएका वन्यजन्तुका आखेटोपहार सशस्त्र वन तालिम कन्द्र चितवन टिकौली र निकुञ्ज,आरक्ष,संरक्षण क्षेत्र कार्यालयको क्षेत्राधिकार भित्र बरामद भएका अन्य वन्यजन्तुका आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्धार, लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय लगायतका स्थानमा भण्डारण गरिदैं आएको छ।

प्राकृतिक मृत्यु भएका वन्यजन्तुबाट झिकिएका वा कानुन बमोजिम बरामद गरिएका वा अन्य जुनसुकै स्रोतबाट प्राप्त भएका वन्यजन्तुका आखेटोपहार कार्यालयको जिन्सी खातामा आम्दानी बाँधी राख्ने र भण्डारण गर्दा सुरक्षित थैलामा आखेटोपहार राखी आखेटोपहारको नाम, परिणाम, स्रोत प्राप्त मिति, जिन्सी खाता पाना नम्बर समेत उल्लेख गरी सिलबन्दी लाहछाप लगाई बलियो काठको वाकस वा दराजमा राख्नुपर्ने ऐनमा व्यवस्था गरिएको छ । यस्तो आखेटोपहार भण्डारण गर्दा आलो वा चिसो वा ढुसी लाग्ने वा सडिगली जाने अवस्थाको आखेटोपहार सुकाएर आवश्यक प्रतिरक्षण औषधि समेतको प्रवन्ध गरी सुरक्षित गर्नुपर्ने जिम्मेवारी समेत बरामद गर्ने निकायको हुने ऐनमा व्यवस्था छ । कानुनी प्रकृया पूरा गरी भण्डारण गरी राखिएका आखेटोपहारलाई ऐन अनुसार थप व्यवस्थापनका लागि चितवन पठाइन लागेको डिभिजन वन अधिकृत शाहले बताए ।

सम्बन्धित खबर