
पोखरा । पर्वतका राजीव रिमालले हालैमात्र निजामती सेवाको शाखा अधिकृत पास गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी वहन गर्न ४ भदौमा पत्र थमाएको थियो ।
कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयको सरुवा भएपछि खाली रहेको पदमा मन्त्रालयले रिहाललाई खटाएको थियो ।
मन्त्रालयले पत्र दिएको २१ औं दिन ९सोमबार० कार्यालयमा हाजिर हुन स्याङ्जा पुगेका रिमालले हाजिर गर्न पाएनन् ।
गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले आफूहरुको संघीय सरकार अन्तर्गतको सामान्य प्रशासन मन्त्रालयसँग लडाइँ भइरहेकाले हाजिर गराउन नसक्ने जवाफ दिएको रिमालले बताए ।
‘यो व्यक्तिगत लडाइँ होइन, गाह्रो नमान्नुहोला, हाम्रो लडाइँ मन्त्रालयसँग चलिरहेको छ’, पालिका प्रमुख थापाको भनाइ उधृत गर्दै रिमालले भने, ‘सहजीकरण गरिदिनुहुन्छ भने गरिदिनुहोस्, होइन भने माफ गर्नुहोला तपाईंलाई हाजिर गराउन सक्दैनौं ।’