काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले यही भदौ २९ गतेदेखि सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन् । सरकारले आफ्ना माग पूरा गर्न समय मागेको भन्दै उनले यसअघि अनशनका कार्यक्रम एक महिना सारेका थिए ।
एकीकृत प्रतिष्ठान ऐन ल्याउने, पदाधिकारी नियुक्तिका मापदण्डको कानुनी व्यवस्था गर्नेलगायत सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन गर्नुपर्ने उनको माग छ ।
“सबै खाले स्वास्थ्य जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा ऐनानुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगोलिक र जनसंख्याका आधारमा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेजहरू खोल्ने सुनिश्चितता नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउँछौँ,” डा.केसीद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।