२०८१ पौष ८, सोमवार , १२:०६:५० बजे

Sajhamanch
'

अनुगमनबाट फर्किएपछि घर बिदा मागेका थिए विमानस्थलमा पक्राउ परेका कर अधिकृतले

सोमवार, भदौ २५, २०८०

दाङ । स्रोत नखुलेको २६ लाख रुपैयाँसहित नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुर अधिकृत खगेन्द्र सापकोटा बाहिरी जिल्लाको अनुगमन गरेर घर विदामा जान लागेको खुलेको छ। विमानस्थलबाट फरार भएका अर्का कर अधिकृत दीपक पौडेल पनि सापकोटासँगै अनुगमनमा गएका थिए।

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख टीकाराज चौलागाईंका अनुसार कर अधिकृतद्वय सापकोटा र पौडेल चार दिनअघि रूकुम पश्चिमको आठबीसकोट क्षेत्रमा अनुगमन गर्नका लागि खटिएका थिए।

पहाडी जिल्लाको अनुगमनबाट आइसकेपछि आफूहरूलाई धपेडी भएको भन्दै उनीहरूले घर बिदामा जान अनुरोध गरेका थिए।

रूकुम पश्चिम कर्णाली प्रदेशमा पर्ने भए पनि पहिलेदेखि नै आन्तरिक राजश्व कार्यालय तुलसीपुरले त्यो क्षेत्र हेर्दै आएको छ। अहिले पनि लुम्बिनी प्रदेशका दाङ, रोल्पा, प्युठान, रूकुम पूर्वका साथै कर्णाली प्रदेशका सल्यान र रूकुम पश्चिमलाई कार्य क्षेत्र बनाई आन्तरिक राजश्व कार्यालय तुलसीपुरले काम गर्दै आएको छ।

‘उहाँहरू तीन-चार दिनअगाडि अनुगमनमा गई फर्किएपछि घर बिदामा जाने भन्नुभएको थियो, त्यहीअनुसार बिदा दिइएको हो,’ कार्यालय प्रमुख चौलागाईंले भने, ‘आज स्रोत नखुलेको त्यति धेरै रकमसहित विमानस्थलबाट पक्राउ परेको खबर सुनेपछि अचम्म लागेको छ।’

उनीहरू दुबै जना पाँच महिनाअघि सरूवा भएर कर कार्यालय तुलसीपुरमा आएका थिए।

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत सापकोटालाई नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान साढे ७ बजे सुरक्षाकर्मीले पक्राउ गरेका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं जान लागेका सापकोटालाई चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको २६ लाख रकम फेला परेको जानकारी दिए।

सापकोटाको साथमा रहेका अर्का कर्मचारी दीपक पौडेल भने भाग्न सफल भएको डाँगीले बताए।

‘विमानस्थलभित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी पौडेल सुटुक्क भाग्न सफल भएको भन्ने छ,’ डाँगीले भने, ‘फरार कर्मचारी पौडेलको खोजी कार्य जारी छ।’

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख चौलागाईंका अनुसार पक्राउ परेका सापकोटाको पुर्ख्यौली घर विराटनगर र फरार रहेका पौडेलको घर स्याङ्जा हो।

अहिले दुबै कर अधिकृतको घर काठमाडौंमा छ भन्ने आफूले सुनेको चौलागाईंले बताए।

पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका व्यक्तिलाई अख्तियारको जिम्मा लगाइएको हुँदा थप अनुसन्धान उतै बाट हुने प्रहरीले बताएको छ।

सम्बन्धित खबर