२०८१ पौष १२, शुक्रवार , ११:४९:५१ बजे

Sajhamanch
'

मोबाइल डाटाबाटै चल्छ नेपालको ७० प्रतिशत इन्टरनेट

बुधवार, भदौ ६, २०८०

काठमाडौं । नेपालमा डाटा सर्भिसको ७० प्रतिशत हिस्सा ‘मोबाइल ब्रोडब्यान्ड’को रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगका लागि खपत हुने डाटामध्ये ७०।४१ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्यान्डको रहेको हो ।

मोबाइल ब्रोडब्यान्ड भनेको मोबाइल नेटवर्कबाट उपलब्ध हुने वायरलेस इन्टरनेट कनेक्सन हो ।

यस्तै, इन्टरनेट बजारमा २९.४४ प्रतिशत हिस्सा फिक्स्ड ब्रोडब्यान्ड अर्थात् वायर्ड कनेक्सनको रहेको छ । वायरलेस फिक्स्ड ब्रोडब्यान्डको हिस्सा ०.१६ प्रतिशत मात्रै रहेको छ ।

जनसंख्याका आधारमा ९४.८८ प्रतिशतमा मोबाइल ब्रोडब्यान्डको पहुँच पुगेको छ भने, ३९.६७ प्रतिशत जनसंख्या फक्स्ड ब्रोडब्यान्डको पहुँचमा छ ।

बजारमा नेपाल टेलिकमको बलियो पकड
सिम सब्सिक्रिप्सनका आधारमा नेपाल टेलिकमको बजार हिस्सा बलियो देखिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाल टेलिकमको हिस्सा ६७.५९ प्रतिशत रहेको छ भने, एनसेलको ३२.४१ प्रतिशत रहेको छ ।

एउटै व्यक्तिले दुईवटा सिम प्रयोग गर्ने तथ्यांक पनि समेटिने हुँदा सबै तथ्यांक वास्तविक भने मानिँदैन ।

४जी इन्टरनेटको सब्सक्रिप्सनको संख्या नेपाल टेलिकममा एक करोड २६ लाख ७९ हजार १८ पुगेको छ भने, एनसेलको ७१ लाख दुई हजार ४७१ रहेको थियो ।

३जी इन्टरनेट सब्सक्रिप्सन गर्नेको संख्या नेपाल टेलिकममा ५९ लाख ३१ हजार २१९ र एनसेलको १८ लाख २२ हजार ४२ रहेको छ ।

फिक्स्ड ब्रोडब्यान्डमा वल्र्डलिंक लिडर
नेपालमा फिक्स्ड अर्थात् वायर्ड ब्रोडब्यान्ड (केबल–फाइबर इन्टरनेट कनेक्सन) जोड्ने ग्राहक संख्या २६ लाख ४७ हजार ३७९ रहेको छ ।

एउटै परिवारका धेरै जनाले इन्टरनेट चलाउने हुँदा फिक्स्ड ब्रोडब्यान्ड चलाउनेको संख्या भने, एक करोड १५ लाख ६९ हजार ४५ पुगेको छ ।

यसरी एक ग्राहक, परिवार वा एक लाइन बराबर ४.६ प्रयोगकर्ता हुने प्राधिकरणको भनाइ छ ।

फिक्स्ड ब्रोडब्यान्डमा सबैभन्दा बढी ग्राहक अथवा सब्सक्रिप्सन हुने पहिलो नम्बरमा वल्र्डलिंक रहेको छ ।

वायरलेस, केबल र फाइबर गरी वल्र्डलिंकका कुल ग्राहक संख्या ७ लाख ५२ हजार ५ सय ७३ रहेको छ । जुन २८ प्रतिशत बजार हिस्सा हो ।

दोस्रो नम्बरमा नेपाल टेलिकमका ग्राहकको संख्या दुई लाख ८८ हजार ६ सय १४ अर्थात् ११ प्रतिशत रहेको छ ।

तेस्रो नम्बरमा क्लासिक टेकको दुई लाख ७० हजार ३३ ग्राहक र चौथो नम्बरमा भायनेटको दुई लाख ६४ हजार ८३ ग्राहक अर्थात् १०/१० प्रतिशत बजार हिस्सा रहेको छ ।

दुई लाख ५५ हजार ३९४ ग्राहकसहित पाँचौँ नम्बरमा सुबिसु र छेटौँमा दुई लाख २९ हजार ६४६ ग्राहकसहित डिस मिडिया नेटवर्क रहेको छ ।

त्यसपछि वेब सर्फर, टेकमाइन्ड्स, ब्रोडलिंक र सीजीको क्रमशः ६, चार, दुई र दुई प्रतिशत बजार हिस्सा रहेको छ । अन्य कम्पनीको भने आठ प्रतिशत हिस्सा छ ।

सम्बन्धित खबर