२०८१ मंसिर १६, आइतवार , ०६:०४:२३ बजे

Sajhamanch
'

झापामा साप्ताहिक पत्रिका सञ्जाल ब्युँताइयो !

शनिवार, साउन २०, २०८०

मेचीनगर । दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरु छ्याप्छ्याप्ती प्रकाशन हुँदा उ बेला झापा लगायत देशभरका धेरै जिल्लामा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल गठन गरिएको थियो । झण्डै १५ वर्षपछि झापामा साप्ताहिक पत्रिका प्रकाशन गर्ने सम्पादक, प्रकाशक र पत्रिकामा आबद्ध पत्रकारहरूले पुनः सञ्जाल ब्युँताएका छन् ।

झापाको मेचीनगर–९ स्थित खुट्टीडाँगी वनको सिमसार क्षेत्रमा आज सम्पन्न भेलाले साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको हो । भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको जनाइएको छ ।

समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । यस्तै समितिका सदस्यहरूमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना र इशा प्रधानलाई जिम्मेवारी दिइएको छ ।

झापामा २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् । तिनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भेलाले निर्णय पनि गरेको छ । साप्ताहिक पत्रिका सञ्जालको विधान मस्यौदा समिति बनाई काम अगाडि बढाउने निर्णय भएको छ ।

सञ्जालका अध्यक्ष राजु पाठक संयोजक रहेको विधान मस्यौदा समितिका सदस्यहरुमा राजबाबु शंकर, रेजिना गौतम, इन्दू पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् ।

अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलामा साप्ताहिक पत्रिकाको अवस्था, चुनौती र सम्भावनाका विषयमा सहभागीले सुझाव राखेका थिए । कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।

सम्बन्धित खबर