२०८१ कार्तिक २९, बिहिवार , १०:११:५६ बजे

Sajhamanch
'

सहकारी क्षेत्र ‘नेपाल सरकारको पुल्पुल्याएको सन्तान’ : रजिष्ट्रार घिमिरे

आइतवार, असार ३१, २०८०

झापा । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले आफू सो पदमा पुगेको ७ महिना पछिमात्र बल्ल आफूले किताबमा पढेकोजस्तो सहकारी संस्था टेक्न पाएको बताएका छन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को अवलोकन पछि आफूलाई यो संस्था सदस्य एवम् समुदाय केन्द्रित सहकारी संस्था रहेको अनुभूति भएको उनको भनाई छ ।

एनएमसीको आठौं सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिको शनिबार बिर्तामोडमा सम्पन्न पदस्थापन समारोहका प्रमुख अतिथि सहकारी विभागका रजिस्ट्रार घिमिरेले यस्तो अनुभूति पस्केका हुन् ।

पूजा सामग्री पसलको साइनबोर्ड राखेर मासु बेच्ने कार्य भएजस्तै नेपालमा सहकारीको ब्यानरमा साहुकारीहरूको ठूलो भिड बढेको उनको ठहर छ ।
सहकारीले जबसम्म सहकारिता गर्छन्, तबसम्म समस्या नहुने प्रष्ट्याउँदै सहकारी विभागका रष्ट्रिार घिमिरेले साहुकारी गर्नेतर्फ सोचेकाहरूमात्र उँधो लागिरहेकोमा दुईमत नरहेको पनि जिकिर गरेका छन् । 

सहकारी क्षेत्रलाई ‘नेपाल सरकारको पुल्पुल्याएको सन्तान’को संज्ञा दिँदै रजिस्ट्रार घिमिरेले यही लाडप्यार र पुल्पुल्याइका कारण कतिपय सहकारीहरू गलत बाटोमा हिंडेको उनको ठहर छ ।

‘समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न सहकारी सबैभन्दा महत्वपूर्ण, सशक्त एवम् प्रभावकारी औजार हो, सिद्धान्त पनि यही भन्छ’ रजिष्ट्रार घिमिरेको बुझाई छ ।

सहकारीमा भइरहेको वर्तमान समस्यालाई विश्वासको संकट हो भन्ने निश्कर्ष निकालेका राजिष्ट्रार घिमिरेले सहकारी संस्थाका सञ्चालक र कर्मचारीले आफ्ना सदस्यहरू बीचमा पुनः विश्वास आर्जन गर्नेगरी काम गर्नुपर्छ र अभियानले पनि सिङ्गो सहकारीलाई विश्वासको वातावरणमा रूपान्तरण गर्न आवश्यक छ भन्ने उनले सुझाएका छन् ।

एनएमसीको नयाँ नेतृत्व विशेष अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीलाई लक्षित गर्दै विभागका रजिष्ट्रार घिमिरेले भने, ‘बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्था, चुचुरोमा पुग्नका लागि बेस क्याम्पमा पुगेको शिखरयात्री जस्तै अवस्थामा रामचन्द्र उप्रेतीले संस्थाको बागडोर तपाइँलाई सुम्पनु भएको छ, अब शिखरमा पुग्ने यात्रा तय गर्न नयाँ नेतृत्वले निरन्तर प्रयास गर्नुपर्छ । सो पूरा गर्न नसकेमा हालको अवस्थाबाट चाहिँ संस्थालाई तल नझार्न मेरो सुझाब छ ।’

सम्बन्धित खबर