२०८१ मंसिर १३, बिहिवार , १०:४२:४२ बजे

Sajhamanch
'

तोपगाछी धरमपुर मैत्री समाजद्वारा १८ थान ह्विलचियर वितरण

सोमवार, वैशाख १८, २०८०

कमल । तोपगाछी धरमपुर मैत्री समाज काठमाडौले कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचियर प्रदान गरेको छ ।

अमेरिकाको टेक्सास राज्यमा रहेको सामाजिक संस्था अनकनको प्रायोजनामा कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा छुट्टाछुट्टै कार्यक्रम गरी मैत्री समाजले ह्विलचियर वितरण गरेको हो । दुईवटै पालिकाका हरेक वडाका १–१ जनालाई लक्षित गरी १८ वटा ह्विलचियर हस्तान्तरण गरिएको हो ।

कमल गाउँपालिकाका शारीरिक अपाङ्गता भएका ७ जनालाई अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीद्वारा ह्विलचियर प्रदान गरिएको थियो । यस्तै शिवसताक्षी नगरपालिकामा ११ जना अपाङ्गता भएका व्यक्तिलाई नगर प्रमुख मेघाहाङ्ग थोप्रा र उपप्रमुख नरमायाँ कार्कीले ह्विलचियर प्रदान गरेका थिए ।

मैत्री समाजले तोपगाछी र धरमपुरमा शिक्षा तथा विकास निर्माणका क्षेत्रमा काम गर्दै आइरहेको छ । सुरुमा तोपगाछी र धरमपुरलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएकोमा राज्य पुनःसंरचना पछि कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका बनाइए पछि सो क्षेत्रमा बसोबास गर्ने र आफैं ह्विलचियर किनेर प्रयोग गर्न नसक्ने परिवारलाई ह्विलचियर वितरण गरिएको मैत्री समाजका अध्यक्ष रामचन्द्र खनाल बताउँछन् ।

तत्कालीन तोपगाछी र धरमपुर गाउँ विकास समितिमा स्थायी बसोबास गर्ने युवाहरु उच्च शिक्षा अध्ययनका लागि काठमाडौ जाने र त्यहाँ समस्यामा परेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले तोपगाछी धरमपुर मैत्री समाजको स्थापना गरी २०४४ साल माघ २ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको थियो ।

सम्बन्धित खबर