२०८१ मंसिर ९, आइतवार , १२:४७:०६ बजे

Sajhamanch
'

धरानका जनप्रतिनिधिहरुमा समस्याको जड के हो ? किन मागिँदैछ वडाध्यक्षको राजीनामा ?

बिहिवार, वैशाख ७, २०८०

सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेको स्मरण गराउँदै वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् ।

नगरप्रमुख राईले यसअघि १ पुसमा पनि कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए । ‘कसैले म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त गरी आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ नगरप्रमुख सम्पाङको हस्ताक्षरमा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै नगरप्रमुख साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

विवाद जडः

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सुरुदेखि नै विवाद रहित हुन सकेको छैन । नगरप्रमुख साम्पाङले एकलौटी गरेको, छलफल नगरेको वडाध्यक्षहरुले आरोप लगाउँदै आएका छन् भने साम्पाङले वडाध्यक्षहरु विकास विरोधी भएको सामाजिक सञ्जाल मार्फत लेख्दै आएका छन् ।

तर पछिल्लो विवाद भने नगरप्रमुखको स्वकीय सचिवले वडाध्यक्षहरुसँग विवरण मागेको भन्ने विषय रहेको छ । गत ७ चैतदेखि धरानका वडाध्यक्षहरुले नगरप्रमुखको विरोधमा कालोपट्टी बाँधरे काम गर्दै आएका छन् । नगरप्रमुख साम्पाङले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गर्न थालेका थिए ।

धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार नगरप्रमुख साम्पाङ्‍का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो । भट्टराईका अनुसार नगरप्रमुखका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ ।

अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

प्रवक्ता भट्टराईका अनुसार १ चैतमा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा नगरप्रमुख साम्पाङले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए । नगरप्रमुखको सचिवालयबाट भएको निर्देशन र नगरप्रमुख साम्पाङ्‍को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ ।

दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले नगरप्रमुख साम्पाङको ध्यानाकर्षण गराएको उनले बताए । तर साम्पाङले दोस्रोपटक उल्टै वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।

सम्बन्धित खबर