कनकाई । झापाको कनकाई नगरपालिका वडा नं. १ स्थित दुर्गापुर बजारको इतिहाससँग जोडिएको श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर परिसरमा सञ्चालन गरिने महापुराणको तयारीलाई तीब्रताका साथ अघि बढाइएको छ ।
मन्दिर व्यवस्थापन समितिले स्थानीय सक्रिय महिला नेतृ सरला दहाल पोखरेलको संयोजकत्वमा गठन गरेको २७ सदस्यीय मूल आयोजक समितिले यही चैत ८ देखि १६ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागेको मन्दिर परिसरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञ सञ्चालन गर्ने तयारी भएको हो ।
आयोजक समितिले ८८ लाखको लागतमा सामुदायिक भवन बनाउने योजना अघि सारेको छ । सतसङ गर्ने हलसहितको सामुदायिक भवन निर्माणका लागि स्थानीय युवा समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा भवन निर्माण समितिसमेत गठन भइसकेको छ ।
त्यसैगरी केही वर्ष अघि नै स्थापना गरेको अक्षयकोषमा हाल ६ लाख ५५ हजार रुपैयाँ रहेको छ भने अनुष्ठानमा दाताहरूले दिएको दान भेटीबाट उक्त कोषलाई बढाएर १२ लाख पुर्याउने लक्ष्य राखिएको महायज्ञ आयोजक समिति संयोजक पोखरेलले जनाएकी छन् ।
रोटरी क्लव अफ सुरुङ्गाको सचिवको जिम्मेवारीमा रहेकी पोखरेलले सुरुङ्गा जेसीजको समेत सफल नेतृत्व प्रदान गरिसकेकी छन् । अन्य विभिन्न सामाजिक साथै धार्मिक संघ–संस्थामा समेत सक्रिय रहँदै आएकी पोखरेलको नेतृत्वमा सम्पन्न हुने महायज्ञ यस क्षेत्रकै नमूना बन्ने स्थानीयको अपेक्षा छ ।
महायज्ञलाई भव्य र व्यवस्थित बनाउन विभिन्न १५ वटा उपसमितिहरू पनि निर्माण गरिएको छ । अनुष्ठानमा पण्डित नारायण शरण काफ्ले प्रमुख वाचक र उपवाचकमा पण्डित सुवास ढकाल रहने छन् ।
महायज्ञ दैनिक बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म संगीतमय कथा प्रवचन, आरती, पुष्पाञ्जली, साँझ ७ बजेदेखि ९ः३० बजेसम्म सन्ध्या आरती, भजन कीर्तन, महात्म्य, प्रवचन, ज्ञानमञ्च, झाँकी प्रर्दशन लगायत विविध कार्यक्रम संचालन हुने बताइएको छ ।
महायज्ञ आयोजक समिति संयोजक सरला दहाल पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद निरौलाले मन्दिर स्थापनाको इतिहास साथै हाल महापुराण आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए ।