२०८१ असोज ३, बिहिवार , ११:०१:५७ बजे

Sajhamanch
'

झापाको एक विद्यालय र तीन उद्योगविरुद्ध अदालतमा मुद्दा दायर

बिहिवार, माघ १९, २०७९

झापा । खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाले जिल्लामा सञ्चालित तीनवटा उद्योग र एउटा विद्यालयको चमेनागृह विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृह विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिएका हुन् ।

मुद्धा दायर गरिएको उद्योगहरुमा बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज रहेका छन् । यसैगरी, मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृह विरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीफर्म भेटिएको तथा दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको कार्यालयले जनाएको छ ।

यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए ।

“सरकारी मापदण्ड अनुसारको खाद्यवस्तु उत्पादन भए नभएको हेर्ने गरेका छौँ” कार्यालय प्रमुख भट्टराईले भनेका छन्, मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिइएको छ ।

बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्समा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराईको भनाई छ ।

खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ ।

सम्बन्धित खबर