अर्जुनधारा । श्रीमानको लात्ती प्रहारबाट यहाँ मंगलबार साँझ एक महिलाको मृत्यु भएको छ ।
घरधन्दा नगरेको र खाना नपकाएको निहुँमा अरुण गाउँपालिका १ भोजपुर घर भई हाल अर्जुनधारा ९ खरबानीचोक बस्ने विश्वराज घिसिङको लात्ती प्रहारबाट उनकी श्रीमती ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो ।
घर बनाउने मिस्त्रीको काम गर्ने विश्वराजले पुष २६ गते मंगलबार साँझ ६ बजे घर जाँदा बिहानदेखिको भाँडा नमाझेको, बेलुकाको खाना पनि नपकाएको र रक्सी खाएर मातेको भन्दै श्रीमतीलाई पेट र छातीमा लात्तीले हानेर कुटपिट गर्दा श्रीमतीको सोही स्थानमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
श्रीमतीको हत्या अभियोगमा प्रहरीले विश्वराजलाई पक्राउ गरी अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकारी वसन्त पाठकले जानकारी दिएका छन् ।