झापा । असहाय तथा विपन्न नागरिकहरुको सामाजिक सुरक्षामा सहयोग गर्ने उद्देश्यले बिर्तामोडमा विपन्न नागरिक सहयोग कोष नामक गैरसरकारी संस्थाको सुरुवात गरिएको छ ।
बिर्तामोड नगरपालिका वडा नं. ४ मा कार्यालय रहने गरी सोही वडाबासीको अग्रसरतामा बिर्तामोड नगरलाई कार्यक्षेत्र बनाएर सेवा गर्ने गरी संस्था स्थापनाको भएको हो । संस्थाको प्रारम्भिक खाका बनाई तदर्थ समिति गठन गरिएको र दर्ता प्रयोजनका लागि विधान लेखन कार्य भइरहेको महासचिव केशवकुमार श्रेष्ठले बताएका छन् ।
कोषको मजवुतीका लागि शुभेच्छुकहरुले स्वेच्छिक आर्थिक सहयोग पनि गर्न थालेका छन् । बिर्तामोड वडा नं. ४ का कान्दु माझीकी श्रीमती क्यान्सरबाट थलिए पछि उनको उपचारका लागि सहयोग जुटाउने क्रममा यस्तो कोषको परिकल्पना गरिएको संयोजक भक्तिप्रसाद तिवारी (विदुर)को भनाई छ ।
कोषका परिकल्पनाकार बिर्तामोड नगरपालिकाका निवृत्त अधिकृत देवराज कार्कीले हरेक सामाजिक व्यक्तिले आफ्नो जन्म दिनमा दिनको १ रुपैयाँका दरले कोषमा सहयोग रकम उपलब्ध गराएमात्र पनि लक्ष्य हासिल गर्न सकिने बताएका छन् । आज पुष २६ गते ५८ वर्ष पूरा गरेका कार्कीले दिनको १ रुपैयाँका दरले हुन आउने २१ हजार १७० रुपैयाँ कोषलाई प्रदान गरेर आफ्नो प्रतिवद्धता पनि पूरा गरेका छन् ।
उनले समाजको हित र उन्नतिका लागि योगदान गर्नेहरुले नै अमरत्व प्राप्त गर्ने भन्दै सानो सानो सहयोगबाट पनि ठूला अभियानहरु पूरा गर्न सकिने भएकाले मन नखुम्च्याई कोषवृद्धिमा लाग्न अनुरोध गरे ।
कोषका सल्लाहकारसमेत रहेका कार्कीको जन्मदिन मनाउन कोषले आयोजना गरेको शुभकामना आदानप्रदान गर्ने कार्यक्रममा उपाध्यक्ष अर्जुन खरेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
जन्म दिनको अवसरमा कार्कीलाई शुभकामना व्यक्त गर्दै कोषका अर्का सल्लाहकार पत्रकार गोपाल काफ्लेले सामाजिक काम गर्न स्थापना गरिएको यस्तो रचनात्मक अभियानले सार्थकता पाउनु पर्ने बताए । उनले आजै आफ्ना बुवा लक्ष्मीप्रसाद काफ्लेको देहावसानको मिति पनि परेकाले उहाँको स्मृतिमा कोषलाई एक हजार रुपैयाँ प्रदान गरे ।
कोषको लक्ष्य हासिल गर्न हालै बिर्तामोड ३ का युवा व्यवसायी, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सचिव अफ्रोज खानले पनि आफ्नो जन्म दिनमा ५ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ । यस्तै कोषका सदस्य सीमा सिलवाल ढुंगानाले पनि आफ्नी २ वर्ष पूरा गरेकी नातिनीको जन्मदिनमा कोषमा ७३० रुपैयाँ जम्मा गरेको महासचिव श्रेष्ठले बताएका छन् ।